काठमाडौं । उज्यालो नेपाल पार्टीमा रहेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिकतर्फको बन्दसूचीमा समेटिएकी डा. त्रिशला गुरुङले आफ्नो नाम औपचारिक रूपमा फिर्ता लिएको घोषणा गरेकी छन्।डा. गुरुङले सामाजिक सञ्जालमार्फत् सार्वजनिक वक्तव्य जारी गर्दै गहन आत्ममूल्यांकनपछि उम्मेदवारीबाट पछि हट्ने निर्णय लिएको जानकारी दिएकी हुन्।
उनले लेखेकी छन्,’गहन आत्ममूल्यांकन पश्चात मैले उक्त उम्मेदवारीबाट पछि हट्ने निर्णय लिएको जानकारी गराउन चाहन्छु। यस निर्णयको मूल कारण मेरो पेशागत जिम्मेवारीप्रति पूर्ण समर्पण गर्दै कला र स्वास्थ्य क्षेत्रमा निरन्तर रूपमा सेवा प्रदान गर्नु तथा नागरिक समाज र समुदायप्रति स्वतन्त्र हैसियतबाट योगदान पुर्याउने दृढ संकल्प हो।’
उज्यालो नेपाल पार्टी (रास्वपा) बाट समानुपातिक प्रतिनिधित्वका लागि उम्मेदवारका रूपमा सिफारिस हुनु आफ्नो लागि ठूलो सम्मान र जिम्मेवारीको विषय भएको उल्लेख गर्दै उनले पार्टी नेतृत्व, सम्बन्धित निकाय र शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेकी छन्।यद्यपि, राजनीतिक पदमा नरहे पनि समाज, स्वास्थ्य क्षेत्र र समुदायको आवाजका रूपमा निरन्तर योगदान गर्ने प्रतिबद्धता उनले दोहोर्याएकी छन्।‘म माथि पार्टीले देखाएको विश्वास, सम्मान र समर्थनलाई सदैव उच्च मूल्यांकन गर्नेछु र उक्त भरोसालाई कहिल्यै कमजोर हुन नदिने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भनेकी छन् ।
















