विराटनगर । सुनसरीको लौकहीमा सफारी चालकमाथि गोली चलाउने एपीएफका हवल्दारलाई पक्राउ गरिएको छ ।बुधबार राति करिब १ बजे सशस्त्र प्रहरीले चलाएको गोली लागेर भारतबाट सिटी सफारीमा सामान लिएर आउँदै गरेका स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएपछि आज बिहानैदेखि सो ठाउँ तनावग्रस्त बनेको थियो । बिओपी लौकहीमा सशस्त्र प्रहरी निरीक्षक मनिष कटुवाल प्रमुखको रूपमा कार्यरत छन्।
उनको मृत्युपछि स्थानीय र पीडित पक्ष आन्दोलित हुँदा प्रहरीसँग पटक पटक झडप हुनुका साथै राजमार्गसमेत अवरुद्ध बन्न पुगेको थियो । आक्रोशितहरूले। सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्टमा पनि आक्रमण गरेका थिए ।
त्यसपछि दिउँसो जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र पीडित पक्षबीच भएको वार्तामा घटनाको छानबिन गर्ने र मृतकका परिवारलाई उचित क्षतिपूर्ति तथा रोजगारीको व्यवस्था गर्ने सहमति जुटेको थियो ।
उक्त घटना छानबिनका लागि हिजै सुनसरीका सहायक सीडीओ घनश्याम न्यौपाने संयोजक, डीएसपी चन्द्र खड्का र राष्ट्रिय अनुसन्धानका अधिकृत रहेको समिति बनेको थियो ।
सोहि अनुसार गोली हान्ने सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार नवराज खतिवडालाई हिजै नियन्त्रणमा लिएर अनुसन्धान थालेको सुनसरी प्रहरीले जनाएको छ ।
खतिवडा बिहीबारदेखि नै जिल्ला प्रहरी कार्यालयमा छन् । उनीसँग सोधपुछ चलिरहेको छ ।घटनापछि हिजै लौकहीस्थित सशस्त्रको बोर्डर आउट पोस्ट (बीओपी) मा कार्यरत सबैलाई फिर्ता बोलाइएको छ ।समितिलाई प्रतिवेदन पेश गर्न ७ दिनको समय सीमा दिइएको छ ।

















