२०८३ बैशाख १६ गते, बुधबार ०५:१७

ईश्वी संवतमा राष्ट्रिय टोपी दिवस मनाइनु दुःखद् : वक्ताहरू

काठमाडौं । ‘जय नेवा:’ को अथक प्रयासमा आयोजना गरिएको राष्ट्रिय टोपी दिवसको कार्यक्रमलाई नेवा: एकताको सहकार्यमा मनाइएको छ।

कार्यक्रममा राष्ट्रवादी अभियन्ता नरेश मान सिंह, कृष्ण बहादुर बज्राचार्य, शैलेश शाक्य लगँ बरेजु, रमेश खड्गी, प्रेम कैदी, कुमार बस्नेत, ध्रुब बस्नेत, कृष्ण लामालगायतका वक्ताहरूले सम्बोधन गर्दै ईश्वी संवतको नयाँ वर्षका दिन राष्ट्रिय टोपी दिवस मनाउने अभ्यासप्रति गम्भीर आपत्ति जनाएका छन्।

वक्ताहरूले योजनाबद्ध रूपमा कुनै न कुनै माध्यमबाट इस्वी संवत लाद्ने प्रवृत्तिको निरन्तरताका रूपमा अंग्रेजी नयाँ वर्षकै दिन टोपी दिवस मनाइँदै आएको भन्दै यसलाई दुर्भाग्यपूर्ण करार दिए। ढाका टोपी, गुन्यू–चोली, दौरा-सुरुवाललगायत नेपालीहरूको मौलिक तथा ऐतिहासिक पहिरण भएको उल्लेख गर्दै यस्ता पहिरणलाई एउटा निश्चित दिनमा मात्र सीमित गर्ने अभ्यास विगत १२–१३ वर्षदेखि हुँदै आएकोप्रति समेत आलोचना गरियो।

वक्ताहरूले राष्ट्रिय पहिचानसँग जोडिएका पोषाक र संस्कृति कुनै औपचारिकतामा मात्र सीमित हुनु नहुने धारणा व्यक्त गरे। नेपाली समाजको सभ्यता, इतिहास र मौलिकताको प्रतिविम्बका रूपमा रहेका पहिरणहरूलाई दैनिक जीवन, सांस्कृतिक अभ्यास र राष्ट्रिय चेतनासँग जोडेर प्रवर्द्धन गर्नुपर्नेमा उनीहरूको जोड थियो।

वक्ताहरूले राष्ट्रिय टोपी दिवस वा राष्ट्रिय पोषाक दिवस अंग्रेजी नयाँ वर्षमा मनाउनु उपयुक्त नभएको भन्दै अब यसलाई ‘राष्ट्रिय टोपी/पोषाक प्रवर्द्धन दिवस’ का रूपमा नेपाली पात्रोअनुसार नै पौष १ गते, पौष २७ गते, माघ १ गते वा अरु कुनै शुभ अवसरमा मनाइनु पर्ने प्रस्ताव अघि सारे। कार्यक्रममा उक्त प्रस्ताव सर्वसम्मत रूपमा पारित गरिएको जनाइएको छ।

कार्यक्रममा सहभागीहरूले राष्ट्रिय पहिचान जोगाउने सवालमा राज्य, राजनीतिक नेतृत्व र नागरिक समाज सबै गम्भीर हुनुपर्ने आवश्यकता औंल्याउँदै विदेशी प्रभावभन्दा आफ्नै मौलिक संस्कृति र परम्परालाई प्राथमिकतामा राख्नुपर्ने निष्कर्ष निकाले।

उक्त कार्यक्रममा पदयात्रा गर्न आउने सम्पुर्ण राष्ट्रवादी अभियन्ताहरुलाई नेवा: संस्कृति अनुसार सगुन दिएर टोपी उपहार दिईएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM