वीरगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समानुपातिक सिफारिस नामावली सार्वजनिक भएपछि मधेस केन्द्रित नेतृत्व र कार्यकर्तामाझ तीव्र असन्तुष्टि सतहमा आएको छ। पार्टीको केन्द्रीय निर्णय प्रक्रियाले स्थानीय यथार्थ, संगठनात्मक योगदान र क्षेत्रीय प्रतिनिधित्वलाई बेवास्ता गरेको आरोपसहित जिल्ला र प्रदेश तहका नेताहरूले सामाजिक सञ्जालमार्फत खुलेर विरोध जनाएका छन्।
राप्रपा वीरगञ्ज महानगर अध्यक्ष जलेश्वर सर्राफले फेसबुकमार्फत पार्टीको समानुपातिक सिफारिसप्रति गम्भीर आपत्ति जनाउँदै मधेस प्रदेश अध्यक्ष भरत गिरी खस–आर्य कोटामा पहिलो नम्बरमा सिफारिस भएको विषयलाई अस्वाभाविक र अन्यायपूर्ण बताएका छन्। सर्राफले भरत गिरी पहाडी समुदायका भएको र मधेसमा पार्टीको संगठनात्मक अवस्था कमजोर रहेको अवस्थामा मधेसी मतदाताले उनलाई मत दिनुपर्ने कुनै आधार नरहेको टिप्पणी गरेका छन्। उनका अनुसार राप्रपाको मधेसमा उपस्थिति न्यून रहेको यथार्थलाई केन्द्रीय नेतृत्वले जानाजान नजरअन्दाज गरेको छ।

यही असन्तुष्टिमा पार्टीका अर्का नेता शम्भु घिमिरेले पनि सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया दिएका छन्। उनले समानुपातिक सिफारिसको शैली अन्य दलहरूको आलोचना गरिँदै आएको प्रवृत्तिसँगै मिल्दोजुल्दो देखिएको भन्दै राप्रपा पनि त्यही बाटोमा हिँड्न लागेको हो कि भन्ने प्रश्न उठाएका छन्। घिमिरेले नेताहरूको श्रीमती, नातेदार र हालसालै पार्टी प्रवेश गरेका व्यक्तिहरूलाई प्राथमिकता दिइएको आरोप लगाउँदै लामो समयदेखि पार्टीमा समर्पित महिला, नेता र कार्यकर्ताको योगदानलाई अवमूल्यन गरिएको बताएका छन्।

घिमिरेको टिप्पणीमा खस-आर्य महिला कोटामा चुनाव जित्ने हैसियत भएका र लामो समयदेखि सक्रिय नेतृहरूलाई पन्छाएर नयाँ अनुहारलाई अगाडि सारिएको उल्लेख छ। साथै जनजाति कोटा र अन्य समूहमा पनि अनुभव, योगदान र संगठन निर्माणमा भूमिका खेलेका नेताहरू ओझेलमा पारिएको उनको आरोप छ। मधेसमा पार्टीको संगठन कमजोर रहेको अवस्थामा त्यही प्रदेशका अध्यक्षलाई खस-आर्य कोटाबाट पहिलो नम्बरमा राख्नु राजनीतिक र संगठनात्मक दुवै हिसाबले अव्यवहारिक भएको उनको भनाइ छ।
बाराको सन्दर्भमा पनि घिमिरेले प्रश्न उठाएका छन्। उनका अनुसार जिल्लामा पार्टी गतिविधि प्रायः शून्य रहेको अवस्थामा जिल्ला सभापति गिरिधारी चौधरीलाई पहिलो नम्बरमा सिफारिस गर्नु नेतृत्वको वास्तविक मूल्याङ्कन क्षमतामाथि प्रश्न उठाउने विषय हो। बसोबास र राजनीतिक सक्रियता फरक जिल्लामा केन्द्रित रहेका व्यक्तिलाई स्थानीय प्रतिनिधित्वको नाममा अगाडि सार्नु पार्टीको दीर्घकालीन हितविपरीत रहेको उनको तर्क छ।
वीरगञ्ज महानगर अध्यक्ष सर्राफको पोस्टमा प्रतिक्रिया जनाउँदै घिमिरेले केन्द्रीय र प्रदेश नेतृत्वमाथि अझ कडा शब्द प्रयोग गरेका छन्। उनले पार्टीलाई कमजोर बनाउने काम केही सीमित व्यक्तिहरूको स्वार्थ, नातावाद र पहुँचको राजनीतिले गरेको आरोप लगाउँदै मधेसमा पार्टीलाई सुन्यतर्फ धकेल्नेहरू नै अहिले समानुपातिक सूचीमा अगाडि परेकोप्रति दुर्भाग्य व्यक्त गरेका छन्।
यी प्रतिक्रिया र आरोपहरूले राप्रपाको केन्द्रीय नेतृत्व, जिल्ला तथा प्रदेश नेतृत्वको कार्यशैलीमाथि गम्भीर प्रश्न खडा गरेका छन्। समानुपातिक जस्तो संवेदनशील राजनीतिक प्रक्रियामा योगदान, संगठन विस्तार र क्षेत्रीय सन्तुलनभन्दा पनि पहुँच र निकटतालाई प्राथमिकता दिइएको आरोपले पार्टीभित्र आन्तरिक असन्तोष बढ्दै गएको देखिन्छ। नेतृत्वले समयमै यी असन्तुष्टिहरू सम्बोधन नगरे पार्टीको संगठनात्मक आधार झनै कमजोर बन्ने र कार्यकर्ताको मनोबलमा दीर्घकालीन असर पर्ने संकेत देखिन थालेको छ।
















