२०८३ बैशाख १६ गते, बुधबार ०६:३०

महाधिवेशनको विवाद चर्किएपछि देउवाले बोलाए गगन-विश्वप्रकाशलाई छलफलमा

काठमाडौँ। नेपाली कांग्रेसमा महाधिवेशनको विवाद चर्किएपछि सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई छलफलका लागि बोलाएका छन्।

सभापति देउवाले बिहीबार साँझ ५ बजे आफ्नो निवास महाराजगञ्जमा महामन्त्रीसद्वयलाई छलफलका लागि बोलाएका हुन्। सभापति देउवाले आजै बिहान उपसभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकसँग छलफल गरेका थिए।

नियमित महाधिवेशन तोकिसकेपछि विशेष महाधिवेशनमा जाने स्थिति नरहेको भन्दै विवाद समाधानका लागि सभापतिले महामन्त्रीसँग छलफल गर्न लागेको लेखकको भनाइ छ।

यता विशेष महाधिवेशन पक्षधर नेताहरूले बिहीबार ‘हल बुकिङ’ गरेको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले जानकारी दिए। उनका अनुसार, पुस २७ र २८ गतेका लागि ‘हल बुकिङ’ गरिएको छ।

गत असोज २९ गते कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन बोलाउन प्रस्ताव दर्ता भएको थियो। कांग्रेस विधानअनुसार प्रस्ताव दर्ता भएको ३ महिनाभित्र विशेष महाधिवेशन आयोजना गर्नुपर्छ।

गत मंसिर १५ मा केन्द्रीय कार्यसमिति बैठकबाट सर्वसम्मत रुपमा पुस २६ देखि २८ गतेसम्म नियमित महाधिवेशन गर्ने निर्णय भएको थियो। तर, निर्धारित नियमित महाधिवेशन नहुने निश्चित भएपछि विशेष महाधिवेशनको मुद्दा फेरि उठेको हो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM