काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच गोप्य भेटवार्ता भएको छ । पुराना दलहरू मिल्नैपर्ने दबाब बढिरहेका बेला दुई नेताबीच भेट भएको हो । भेटको सूचना दुवै नेताका सचिवालयले गोप्य राखेका छन् ।
डिसी नेपालका अनुसार, भेट सोमबार भएको स्रोतले बतायो । भेटमा आगामी माघ ११ गतेका लागि तोकिएको राष्ट्रिय सभा निर्वाचनका विषयमा कुरा भएको थियो । यसबाहेक फागुन २१ मा हुने प्रतिनिधि सभामा मिलेर जाने विषयमा पनि छलफल भएको स्रोतले बतायो ।
राष्ट्रिय सभा निर्वाचनमा १ महिना पनि समय बाँकी छैन । स्रोतका अनुसार यो निर्वाचनका लागि नेकपा संयोजक प्रचण्डले दुई ठूला दलसँग समानान्तर कुरा गरेर च्याँखे थापेका छन् । पछिल्लो स्थितिलाई हेर्दा प्रचण्डले आफूलाई ‘लिलामी’मा राखेको जस्तो देखिने अवस्था आएको स्रोतले बतायो ।
स्रोतका अनुसार प्रचण्ड अहिले दुवै ठूला दलका लागि उपलब्ध छन्, जसले ठूलो मूल्य दिन सक्छ उनी उतै जान सक्छन् । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख मात्र मतदाता हुने भएकोले जेन-जी आन्दोलनपछिको माहोललो यो निर्वाचनलाई फरक पार्ने स्थिति छैन । निर्णायक शक्तिपुराना दलहरू नै हुन् किनकि पुराना अधिकांश दलबाट निर्वाचित जनप्रतिनिधि नै हुन् ।
राष्ट्रिय सभा निर्वाचनमा नेकपा एक्ले लडेमा जित्न सक्ने स्थिति छैन । तर नेकपा एमाले वा कांग्रेस जुन दलसँग मिल्यो नतिजा उतै जाने स्थिति छ । आफ्नो दल निर्णायक अवस्थामा भएपछि प्रचण्डले अहिले कांग्रेस र एमालेसँग ‘लिलाम बढाबढ’ शैलीमा छलफल गरिरहेको स्रोत बताउँछ ।
यसअघि एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले राष्ट्रिय सभा निर्वाचनमा एमाले र कांग्रेस मिल्नुपर्ने बताएका थिए । तर, लगत्तै कांग्रेसले नेकपासँग समानान्तर छलफल अगाडि बढाएपछि एमाले अध्यक्ष ओली प्रचण्डलाई भेट्न अग्रसर भएको बताइन्छ । कांग्रेसले एमाले वा नेकपा कुन दलसँग मिल्ने भन्ने विषयमा निर्णय गरेको छैन।















