काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) ले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत खस–आर्यतर्फको बन्दसूचीमा रहने पहिलो तीन उम्मेदवारको चयन प्रजातान्त्रिक विधिबाट गरेको छ। आज बसेको पार्टीको कार्यसम्पादन समिति बैठकमा मतदानमार्फत उम्मेदवारहरूको टुंगो लगाइएको हो।
मतदानको नतिजाअनुसार सर्वाधिक मत प्राप्त गर्दै भरत गिरी खस–आर्यतर्फको बन्दसूचीमा पहिलो नम्बरमा चयन भएका छन्। गिरी हाल मधेस प्रदेश प्रमुख तथा पार्टीको कार्यसम्पादन समिति सदस्य रहेका छन्।
यस्तै, धार्मिक क्षेत्रको प्रतिनिधित्व गर्दै पुष्पराज पुरुष दोस्रो नम्बरमा चयन भएका छन्। पुरुष राप्रपाको धर्म–संस्कृति विभाग तथा धार्मिक संगठनका प्रमुखका रूपमा क्रियाशील छन्।
तेस्रो नम्बरमा सुदूरपश्चिम प्रदेश प्रमुख धर्मराज जोशी चयन भएका छन्।
पार्टी नेतृत्वले बन्दसूची चयन प्रक्रियामा आन्तरिक लोकतन्त्र, समावेशिता र क्षेत्रीय सन्तुलनलाई प्राथमिकतामा राखिएको जनाएको छ। कार्यसम्पादन समिति बैठकमा भएको मतदानलाई पार्टीभित्रको प्रजातान्त्रिक अभ्यासको उदाहरणका रूपमा प्रस्तुत गरिएको छ।
राप्रपाले आगामी निर्वाचनका लागि उम्मेदवार चयन गर्दा संगठनात्मक योगदान, वैचारिक प्रतिबद्धता र क्षेत्रीय प्रतिनिधित्वलाई मुख्य आधार बनाएको जनाएको छ।
















