काठमाडौं । सरकारले गृह सचिवसहित सात जना सचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ। पुस ११ गते बसेको मन्त्रिपरिषद् बैठकले गृह प्रशासनदेखि संवैधानिक निकायसम्मका उच्च तहका कर्मचारीहरूलाई एकै पटक हेरफेर गर्ने निर्णय गरेको हो।
सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरी पुष्करलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरेको छ। कार्यसम्पादनका हिसाबले प्रभावशाली मानिँदै आएका सचिव पुष्करलाई कार्यकारी भूमिकाबाट हटाएर उपराष्ट्रपतिको कार्यालयमा पठाइनुलाई प्रशासनिक वृत्तमा ‘थन्क्याउने निर्णय’का रूपमा लिइएको छ।
मन्त्रिपरिषद् निर्णयअनुसार गृह सचिव रामेश्वर दंगाललाई लोक सेवा आयोगमा सरुवा गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठलाई गृह सचिवमा नियुक्त गरिएको छ। त्यस्तै, लोक सेवा आयोगका सचिव किरणराज शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ।
यसैगरी, सचिव पुष्करको स्थानमा राष्ट्रपति कार्यालयका सचिव दिपक काफ्लेलाई श्रम मन्त्रालयमा ल्याइएको छ। युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरि लम्साललाई राष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ भने उपराष्ट्रपति कार्यालयका सचिव लोकनाथ पौडेललाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ।
सरकारको यो सरुवालाई नियमित प्रशासनिक प्रक्रिया भनिए पनि केही दक्ष सचिवहरूलाई शक्तिहीन कार्यालयतर्फ सारिएको निर्णयले विभिन्न अड्कल र टिप्पणीहरू जन्माएको छ। विशेषतः सचिव डा. कृष्णहरी पुष्करको उपराष्ट्रपति कार्यालय सरुवाले कर्मचारी प्रशासनभित्र असन्तुष्टि र प्रश्नसमेत उठाएको छ।

















