काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच ‘बृहत् एकता’ सम्बन्धी ७ बुँदे सहमति भएको छ। दुवै पक्षले पुष १३ गते सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।
सहमति अनुसार रास्वपाको केन्द्रीय सभापति रवि लामिछाने नै रहनेछन् भने आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने व्यवस्था गरिएको छ। दुवै नेताबीच भएको सहमतिलाई समकालीन नेपाली राजनीतिमा वैकल्पिक र परिवर्तनकामी शक्तिहरूको एकताका रूपमा हेरिएको छ।
सहमति पत्रमा बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन, सामाजिक न्यायसहितको उदार अर्थतन्त्र र समतामूलक उन्नतिप्रति प्रतिबद्ध रहँदै आम नागरिकका आकांक्षा सम्बोधन गर्न सहकार्य अपरिहार्य रहेको उल्लेख छ। २०८२ साल भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनलगायत विभिन्न कालखण्डका जनआन्दोलनका शहीद र घाइतेहरूको बलिदानलाई प्रेरणादायी स्मृतिका रूपमा आत्मसात गर्ने सहमति गरिएको छ।
सहमति अनुसार भ्रष्टाचार र कुशासनविरुद्ध नवयुवाहरूले गरेको आन्दोलनको अपनत्व लिँदै घाइते तथा शहीद परिवारका मागहरूको यथोचित सम्बोधन गरिनेछ। साथै गहिरा नीतिगत, संस्थागत तथा संरचनात्मक सुधारमार्फत आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने लक्ष्यसहितको मार्गचित्र इमान्दारीपूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइएको छ।
बृहत् एकतापछि कायम रहने दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, झण्डा साविककै निलो पृष्ठभूमिमा सेतो गोलाकारभित्र निलो घण्टी रहने र चुनाव चिन्ह ‘घण्टी’ नै कायम रहने सहमतिमा उल्लेख छ। पार्टीको केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहनेछ।
त्यस्तै, संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई योग्यता, समावेशिता र सार्वजनिक छविका आधारमा जिम्मेवारी तोकिने सहमति भएको छ। यस सम्झौताअनुसार रास्वपासम्बन्धी सम्पूर्ण दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गरिनेछ।
सहमति पत्रमा लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दामा घण्टी चुनाव चिन्हमा गोलबद्ध हुन अन्य सुसंस्कृत र परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई समेत आव्हान गरिएको छ।
रास्वपा र बालेन्द्र शाहबीच भएको यो सहमतिले नेपाली राजनीतिमा नयाँ ध्रुवीकरणको संकेत गरेको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ।


















