२०८३ बैशाख १६ गते, बुधबार ११:१०

सशस्त्रको घुमुवाको स्कर्टिंगमा सर्लाहीबाट तस्करी

मलंगवा । सशस्त्र प्रहरी बल १० नम्बर गण सर्लाहीका एसपी देवबहादुर चन्दको सरुवा हुने समय नजिकिंदै जाँदा नाका नाकाबाट तस्करी बढेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीका स्थानीय चौकी इन्चार्जको पनि मिलेमतो कवाडीको तस्करी सर्लाहीबाट हुँदैआएको छ । सर्लाहीको मधुवनीबाट दैनिक करोडौंको कवाडी भारततर्फ तस्करी हुने गरेको छ । कवाडीका अलावा चिनियाँ स्याउ पनि भारततर्फ तस्करी हुँदैआएको छ ।

स्रोतका अनुसार कवाडी भारत लैजानेमा मुख्य बिजय यादव हुन् । चितवनको भरतपुरबाट कवाडी संकलन गरी चन्द्र पोखरेलको निर्जन ट्रेडर्स भरतपुरले श्रीकृष्ण ट्रेडर्स बलरा सर्लाहीको नाममा पठाउने गरेको छ । श्रीकृष्ण ट्रेडर्सको बिजय यादवको हो । श्रीकृष्ण ट्रेडर्सले भरतपुरबाट पठाइएको कवाडी मधुवनीसहितका सर्लाहीका नाकाबाट भारततर्फ तस्करीका माध्यमले तस्करी गर्ने गरेको स्रोत बताउँछ ।

चन्द्र पोखरेल र बम नामका अर्का ब्यक्ति साझेदार रहेको निर्जन ट्रेडर्स भरतपुरको नाममा बिल काट्ने गरेका छन् । मूल्य अभिबृद्धि कर(भ्याट)मा दर्ता नभएको प्यान बिलमात्र काटेर कवाडी सर्लाहीमा पठाउने गरिएको छ । ५० लाखको कवाडी छ भने अन्डरभ्यालुएसन गरी २५ लाखको मात्र कायम गरी सर्लाहीमा पठाई भारततर्फ तस्करी हुने गरेको छ । कवाडी मूल्यांकन नै अति कम गरी सर्लाहीमा पठाएर बिजय यादवले भन्सारछली गरी भारततर्फ पठाउने गरेका छन् । कवाडी तस्करीमा पछिल्लो समयमा सुरेश चौधरी पनि जोडिएका छन् ।

मधुवनी बीओपीका इन्चार्ज इन्स्पेक्टर दीपेन्द्र पौडेलको सेटिङमा कवाडीका दसौं गाडी दैनिक भारततर्फ जाने गरेका छन् । इन्स्पेक्टर पौडेल तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणका निकट भएर रुपन्देही अन्तर्गत मालदार ठाउँमा बर्षौ कार्यरत रहेका थिए । भन्सार नतिरी करोडौंको कवाडी यादवले मधुवनी बीओपीका इन्चार्ज पौडेलसँग सेटिङ मिलाएर भारत पठाउने गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM