वीरगंज। पर्सा प्रहरीले ठूलो परिमाणमा लागुऔषध चरेस बरामद गरेको छ। विशेष सूचनाको आधारमा गरिएको जाँचका क्रममा प्रहरीले २४० किलो चरेससहित दुई जनालाई नियन्त्रणमा लिएको हो।
पर्सा प्रहरी प्रमुख सुदिपराज पाठकका अनुसार वीरगंज महानगरपालिका क्षेत्र हुँदै चरेस ओसारपसार भइरहेको सूचनाका आधारमा जगरनाथपुरबाट आएको ६ चक्के ट्रक जाँच गर्दा ट्रकमै लुकाइ राखिएको अवस्थामा चरेस फेला परेको हो। सो क्रममा ट्रकसहित दुई जना कारोबारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
बरामद गरिएको चरेस ट्रकमै लुकाइ ल्याइँदै गरेको अवस्थामा फेला परेको र घटनामा संलग्न अन्य व्यक्ति तथा नेटवर्कबारे अनुसन्धान भइरहेको पर्सा प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेकाहरूको नाम, ठेगाना तथा अन्य विवरण सार्वजनिक गर्दा अनुसन्धान प्रभावित हुन सक्ने भएकाले हाललाई गोप्य राखिएको प्रहरीले जनाएको छ। यस घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको पर्सा प्रहरीले स्पष्ट पारेको छ।










