२०८३ बैशाख १६ गते, बुधबार १५:३२

जेष्ठ नागरिक : सम्मानको सिंहासनदेखि पार्कको बेञ्चसम्म

– राजेन्द्र प्रसाद सिंह

नेपाली समाजमा “जेष्ठ नागरिक” शब्द उच्चारण गर्नासाथ एउटा भावनात्मक आवरण ओढाइन्छ। त्यो आवरण यति बाक्लो हुन्छ कि त्यसभित्र लुकेका विकृति, विसंगति, चरित्रगत विचलन र सामाजिक जिम्मेवारीबाट पलायन देखिनै छोड्छ। जेष्ठ नागरिकलाई सम्मान गर्नुपर्छ भन्ने कुरा शास्त्र, संस्कृति र सभ्यताको आधार हो, तर सम्मानको नाममा आलोचनाबाट माथि राख्ने परम्पराले समाजलाई मार्गदर्शन होइन, दिशाहीनता दिएको छ।

आजको जेष्ठ नागरिक कुनै एकरूप समुदाय होइन। उनीहरू दलका छन्, लिंगका छन्, वर्गका छन्, वर्णका छन्, जातका छन्, सम्प्रदायका छन्। अझ स्पष्ट भन्नुपर्दा, जेष्ठ नागरिक पनि आफूलाई सुविधा पर्ने ठाउँमा विभाजित छन्। सत्ता नजिकको जेष्ठ नागरिक ‘आदरणीय’ हुन्छ, पार्कमा बस्ने जेष्ठ नागरिक ‘बेकार’, मन्दिर अगाडि बसेर आँखा डुलाउने जेष्ठ नागरिक ‘हास्यास्पद’ र घरभित्रै मौन पीडामा बाँचिरहेको जेष्ठ नागरिक ‘अदृश्य’।

राजनीतिक दलका जेष्ठ नागरिकहरूलाई हेर्दा लाग्छ-उमेर बढे पनि आत्ममूल्यांकन कहिल्यै भएन। जीवनभर सत्ता, पद, हैसियतको वरिपरि घुमेका यी पात्रहरू आज पनि आफूलाई समाजको अनिवार्य आवश्यकता ठान्छन्। युवालाई मार्गदर्शन दिनुपर्ने उमेरमा उनीहरू युवालाई नै “अपरिपक्व”, “अनुभवहीन” र “अराजक” ठहर गर्छन्। तर विडम्बना के छ भने, देशको आजको राजनीतिक दुर्दशा उनीहरूको अनुभवबाटै पैदा भएको हो भन्ने स्वीकार गर्ने साहस उनीहरूमा छैन।

सामाजिक रूपमा जेष्ठ नागरिकलाई पथप्रदर्शक मानिन्छ। तर आज पार्क, चौतारा, मन्दिरको बेञ्च, पसलमा बसेका कतिपय जेष्ठ नागरिकहरू पथ देखाउने होइन, पथभ्रष्टताको उदाहरण बनेका छन्। आउने–जाने श्रद्धालु, महिला, युवतीहरूलाई नियाल्दै, अश्लील संकेत, व्यंग्यात्मक टिप्पणी र लाज हराएको हेराइले उनीहरू आफूलाई होइन, सम्पूर्ण बुढ्यौलीलाई बदनाम गरिरहेका छन्। समाजले सम्मान गर्नुपर्ने उमेरमा उनीहरू समाजकै मर्यादामाथि प्रहार गरिरहेका छन्।

कतिपय जेष्ठ नागरिक सामाजिक सद्भाव बिगार्ने गतिविधिमा सक्रिय छन्। छिमेकीविरुद्ध कानमा विष हाल्ने, परिवारभित्र आगो बाल्ने, जात-धर्म-सम्प्रदायको नाममा घृणा फैलाउने काममा उनीहरू अग्रपंक्तिमा देखिन्छन्। समाज बिगार्ने अफवाह, अतिरञ्जित कथा र पुरानो घाउ कोट्याउने काम उनीहरूकै मुखबाट सुरु हुन्छ। “हाम्रो पालामा यस्तो थिएन” भन्ने वाक्य त मानौँ सामाजिक विभाजनको स्थायी अस्त्र नै बनिसकेको छ।

अझ गम्भीर पक्ष के छ भने, केही जेष्ठ नागरिकहरू ‘सुगर ड्याड’ बन्ने होडमा लागेका छन्। उमेरले होइन, लालसाले चल्ने यस्ता पात्रहरू हनी ट्र्यापमा परेका समाचार अब असामान्य रहेनन्। सम्पत्ति, पहुँच र भावनात्मक कमजोरीको दुरुपयोग गर्दै युवा महिलालाई नियन्त्रणमा राख्ने प्रयास गर्ने, अन्ततः आफैँ ठगिने, बदनाम हुने र परिवारलाई लज्जित बनाउने घटना बढ्दैछन्। समाजले जसलाई नैतिकताको प्रतीक मान्नुपर्ने हो, तिनै पात्रहरू नैतिक पतनको समाचार बनेका छन्।

लिंगको आधारमा पनि जेष्ठ नागरिकको अवस्था समान छैन। जेष्ठ पुरुष अझै पनि बोल्छन्, निर्णय गर्छन्, सम्पत्ति कब्जा गर्छन्। जेष्ठ महिला भने मौन छन्, सहन्छन्, हेराइमा परे पनि सुनुवाइ पाउँदैनन्। विधवा, एक्लो, आश्रित जेष्ठ महिला आज पनि सामाजिक उपेक्षाको चरम यातना भोगिरहेकी छन्। सम्मानको नाराभित्र सबैभन्दा बढी उपेक्षित यही वर्ग हो।

वर्गीय दृष्टिले हेर्दा जेष्ठ नागरिक झन् विभाजित छन्। सुविधासम्पन्न जेष्ठ नागरिक स्वास्थ्य सेवा, सामाजिक सुरक्षा, सम्मान कार्यक्रमको केन्द्रमा छन्। गरिब जेष्ठ नागरिक भने लाइनमा उभिएर भत्ता लिनु नै जीवनको उपलब्धि ठान्न बाध्य छन्। सम्मान भाषणमा सीमित छ, व्यवहारमा होइन। राज्यका नीति कागजमा जेष्ठ-मैत्री छन्, व्यवहारमा कर्मचारी-मैत्री।

सनातनी संस्कृतिमा वृद्धलाई ज्ञानको भण्डार, धर्मको आधार र समाजको मेरुदण्ड मानिएको छ। ऋषि-मुनि, गुरुकुल, आश्रम, वानप्रस्थ, संन्यास – यी सबै अवधारणाले वृद्धलाई आत्मसंयम, त्याग र मार्गदर्शनको प्रतीक बनाउँछन्। तर आजको जेष्ठ नागरिक त्यो परम्पराको उत्तराधिकारी होइन, केवल उमेरको दावेदार बनेको छ। संस्कृतिको नाममा उपदेश दिन्छ, तर आचरणमा संस्कार हराइसकेको छ।

समस्या जेष्ठ हुनु होइन, समस्या आत्मसमीक्षा नगर्नु हो। समस्या उमेर बढ्नु होइन, जिम्मेवारी घटाउनु हो। समाजलाई दोष दिएर, समयलाई सरापेर, युवालाई गाली गरेर जेष्ठ नागरिक सम्मानित हुँदैन। सम्मान मागेर होइन, आचरणले कमाइन्छ।

सबै जेष्ठ नागरिक यस्ता छैनन्, यो सत्य हो। तर खराब उदाहरणले राम्रो इतिहासलाई ढाकेको छ। मौन बस्ने असल जेष्ठ नागरिकहरू आज चिच्याउने असल-नदेखिने जेष्ठ नागरिकको भीडमा हराइरहेका छन्। समाजलाई उनीहरूको खाँचो छ, तर त्यो खाँचो पद, प्रभाव र हस्तक्षेपको होइन-विवेक, संयम र मार्गदर्शनको हो।

अब जेष्ठ नागरिकलाई सम्मानको आवरणभित्र राखेर आलोचनामुक्त बनाउने संस्कृतिको पुनरावलोकन गर्ने समय आएको छ। जेष्ठ हुनु अधिकार हो, तर उत्तरदायित्वसहित। अनुभव पूँजी हो, तर सही प्रयोग भएमा मात्र। नत्र त्यो बोझ बन्छ।

यदि जेष्ठ नागरिक साँच्चै समाजका पथप्रदर्शक हुन् भने, उनीहरूले पहिलो कदम आफैँबाट सुरु गर्नुपर्छ आँखा शुद्ध गर्न, बोली संयमित गर्न, लोभ नियन्त्रण गर्न र अहंकार त्याग्न। नत्र इतिहासले उनीहरूलाई सम्मानित अग्रज होइन, असफल पुस्ताको उदाहरणका रूपमा मात्र सम्झिनेछ।

सम्मान स्वतः पाइँदैन, न उमेरले, न पदले। सम्मान त्यो हो, जो समाजले मनबाट दिन्छ र त्यो मन जित्न, पहिले आत्मा सफा गर्नुपर्छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM