काठमाडौं/काठमाडौंको स्वयम्भु क्षेत्रमा स्कुटर जबर्जस्ती लुटिएको घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको छ।
पीडितका अनुसार वडा कार्यालयबाट घर फर्किने क्रममा स्वयम्भुस्थित समृद्धि विद्यालयका प्रबन्धक निर्देशक सन्दीप श्रेष्ठ र उनका केही अज्ञात सहयोगीहरूले बाटोमा रोक्दै हातपाईसहित धम्की दिएर स्कुटर लुटपाट गरेका थिए। लुटपाटमा पीडितको नाममा दर्ता रहेको स्कुटर (बा ५४ प १३४८) सहित त्यसमा रहेका नगद रकम, महत्वपूर्ण कागजात, पेन ड्राइभ, चस्मा, पन्जा तथा कोटसमेत लगिएको बताइएको छ।
घटनापछि पीडितको उजुरीका आधारमा स्वयम्भु प्रहरी वृत्तले घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरी स्रोतका अनुसार घटनामा संलग्न भनिएका व्यक्तिहरूको खोजी गरी स्कुटरलाई प्रहरी वृत्तमा झिकाइएको छ।
प्रहरीले घटनासम्बन्धी तथ्य संकलन गर्दै निष्पक्ष छानबिन भइरहेको जनाएको छ भने कानुनी प्रक्रिया अगाडि बढाउने विषयमा अनुसन्धानको निष्कर्षपछि निर्णय गरिने बताइएको छ।
















