२०८३ बैशाख १६ गते, बुधबार १८:३१

गर्भवतीमाथि हिंसा गर्दै भ्रूण हत्या गर्ने तीन महिला दोषी, अदालतले तोक्यो कैद र जरिवाना

वीरगंज/आफ्नै घरभित्र, पारिवारिक नाताभित्रै गर्भवती महिलामाथि गरिएको हिंसाका कारण १० हप्ताको भ्रूणको मृत्यु भएको घटनामा जिल्ला अदालतले अन्ततः फैसला सुनाएको छ।

अदालतले जानकी इङ्लिश बोर्डिङ स्कूलकी प्रिन्सिपल सुनिता यादव तथा उनका बहिनीहरू पुनम यादव र अमृता यादवलाई दोषी ठहर गर्दै प्रत्येकलाई तीन-तीन महिना कैद, जनही १० हजार रुपैयाँ क्षतिपूर्ति र २ हजार ५ सय रुपैयाँ जरिवाना तोकेको हो।

अदालतको फैसलाले न्याय प्रक्रियामा ढिलाइ भए पनि अन्ततः अन्यायले उन्मुक्ति नपाउने स्पष्ट सन्देश दिएको छ। शक्ति, पद वा पहुँचका आधारमा गम्भीर अपराध लुकाउन सकिँदैन भन्ने सन्देश यस निर्णयमार्फत स्थापित भएको छ।

यो घटना सामान्य घरेलु विवादको सीमाभन्दा धेरै बाहिरको विषय भएको अदालतको ठहर छ। गर्भवती महिलामाथि गरिएको कुटपिटका कारण गर्भमै रहेको निर्दोष शिशुको ज्यान जानु मानवता र सभ्य समाजमाथिको गम्भीर प्रहार भएको उल्लेख गरिएको छ। चिकित्सक तथा कानुनी विज्ञहरूका अनुसार गर्भावस्थामा गरिएको हिंसा महिलाको जीवनसँगै गर्भस्थ शिशुको अस्तित्वमा समेत गम्भीर खतरा पैदा गर्ने अमानवीय कार्य हो।

समाजलाई शिक्षा र नैतिकता सिकाउने जिम्मेवारीमा रहेका व्यक्तिहरू नै यस्तो जघन्य अपराधमा संलग्न हुनु थप चिन्ताजनक भएको टिप्पणी गरिएको छ। अदालतको यस फैसलाले महिला हिंसा, घरेलु अत्याचार र गर्भवतीमाथि हुने हिंसाप्रति राज्यले अब सहनशीलता होइन, कडा कानुनी दृष्टिकोण अपनाउनुपर्ने आवश्यकता औंल्याएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM