काठमाडौँ/काठमाडौँ महानगरपालिका-६, तिनचुली क्षेत्रमा प्रहरीले ठूलो परिमाणको नगदसहित एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार ओखलढुंगा-सिद्धिचरण नगरपालिका-१ का १९ वर्षीय दावा शेर्पा, हाल आरुबारी बस्ने, स्रोत नखुलेको १८ लाख रुपैयाँभन्दा बढी रकमसहित नियन्त्रणमा परेका हुन्।
मंसिर १४ गते तिनचुलीस्थित भारतको राजस्थान, तारानगर निवासी ३८ वर्षीय दीपक केजरीवाल (भारतीय पासपोर्ट नं. Z66103854) ले प्रयोग गर्दै आएको कोठामा गरिएको चेकजाँचका क्रममा १८ लाख १६ हजार ५०० रुपैयाँ नगद, दुई थान मोबाइल फोन र दुई थान चेकबुक बरामद भएको प्रहरीले जनाएको छ।
बरामद भएका सामग्रीसहित शेर्पालाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसरका सूचना अधिकारी एसपी पवनकुमार भट्टराईले बताएका छन्।
















