काठमाडौँ/पर्सा, बारा लगायतका विभिन्न जिल्लाबाट गैरकानूनी तरिकाले नेपाली नागरिकता प्राप्त गरेको आरोपमा १० जना भारतीय नागरिक पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा गरिएको अनुसन्धानपछि उनीहरूलाई अलग–अलग स्थानबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा भारत बिहार घर भई काठमाडौंको शंखमुलमा बस्दै आएका ५५ वर्षीय भरतप्रसाद गुप्ता, ३० वर्षीय राहुल गुप्ता, ५० वर्षीया ज्ञानमति देवी गुप्ता र ३९ वर्षीय गोपाल गुप्ता रहेका छन्।
त्यसैगरी, बिहारबाट आएर ललितपुरको लगनखेलमा बस्ने ४४ वर्षीय रामसुन्दर गुप्ता, गोंगबु बस्ने ४३ वर्षीय रामप्रवेश गुप्ता, कलंकी बस्ने 46 वर्षीय भरत गुप्ता, ४२ वर्षीया स्नेहलता गुप्ता, ४९ वर्षीया मिनदेवी गुप्ता र ५२ वर्षीय राजेशकुमार गुप्ता पनि पक्राउ परेका छन्।

उनीहरूले विभिन्न समयमा स्थानीय तहका सिफारिस, कागजातको जालसाजी र गलत विवरणमार्फत नेपाली नागरिकता लिएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले बताएको छ। पक्राउ परेकाहरूलाई आवश्यक कारवाहीका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा अनुसन्धान निकायलाई बुझाइएको छ।

नागरिकता जालसाजीसम्बन्धी घटनामा पछिल्लो समय तीव्रता देखिएको भन्दै प्रहरीले निगरानी बढाउने, संलग्न ठाउँ–ठाउँका दलाल तथा सिफारिस प्रदान गर्ने व्यक्तिहरूमाथि पनि कडा कारबाही अघि बढाइने चेतावनी दिएको छ।
प्रकाशित मिति : २०८० वैशाख २४ गते
















