२०८३ बैशाख १७ गते, बिहीबार ०१:२५

सर्लाहीबाट अनियन्त्रित तस्करीको लाइन

सर्लाही/भारत–नेपाल सीमासँग जोडिएका बहादुरपुर, त्रिभुवननगर, सखुवबा, फेनहरा, छन्किटोला, गडहिया-खैरवा, भाडसर हुँदै धरमपुर पुलसम्मको क्षेत्रमा राति पर्दासँगै तस्करीको चहलपहल खुलेआम बढ्ने गरेको स्थानीयको गुनासो छ। दिनभर सामान्य घरायसी सामग्रीमा निगरानी कडाइ देखाउने सुरक्षाकर्मीहरू साँझ परेपछि भने नाकामा ‘लाइन मिलाउने’ जिम्मेवारीमा व्यस्त देखिने गरेको आरोपसँगै, सीमाबाट चाइनिज लाइटर, लसुन, कपडा, ब्याट्री, किराना सामग्री, मदिरा, स्याउ, चल्ला, हार्डवेयर सामानदेखि बालुवा–गिट्टीसमेत निर्वाध रूपमा ओसारिने क्रम बढ्दो छ। रातिको समय नाका ‘खुला बजार’ जस्तै बन्ने गरेको दाबी स्थानीयको साझा अनुभवजस्तै सुनिन्छ।

सीमाक्षेत्रमा ‘भायलोग’देखि सेराजुल मिकरानीसम्म सक्रिय समूहहरूले तस्करीको बलियो जालो बनाइसकेको स्थानीय स्रोतको भनाइ छ। पर्सा नाकाबाट मुसैलीका जितेन्द्र यादव र ब्रहम्पुरीका कृष्ण यादव ब्याट्री तथा कबाड कारोबारमा लागेका छन्। फेनहरा क्षेत्रबाट सुरेश चौधरी, बलराका नविन चौधरी, इनरवाका विजय दास तत्मा, पुकार ठाकुर, पर्साका सरोज साह सोनार, त्रिभुवननगरका हुसैनी र गम्हरियाका विजय साह कलवार कपडा ओसार्ने लाइन चलाइरहेका छन्। खैरवाका बुधु यादवले छन्किटोला नाकाबाट र

राङ्गा तस्करी गर्ने गरेको आरोप छ भने रामइश्वर बलरा छन्की मार्ग प्रयोग गरी कपडा तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्दै आएका छन्। फेनहारा नाकाबाट बरहथवाका मुकेश शाह र ब्रिजकिशोर यादव पनि कपडा तस्करीको गतिविधिमा संलग्न रहेको बताइन्छ।

मलङ्गवाबाट काठमाडौं चल्ने लोकल बस, स्कुटी र अटो तस्करीका प्रमुख माध्यमजस्तै बनेका छन्। ‘जितेन्द्र किराना’, ‘मलखाद’, ‘राजा हार्डवेयर’, ‘तिन बहिनी समूह’ जस्ता व्यापारिक नाममा बसमार्फत् सामान पठाइने गरेको स्थानीयको भनाइ छ। स्कुटीमार्फत् सामग्री ल्याउनेमा शोभा नामकी महिला चर्चित छिन् भने बबिता अटोमार्फत् कपडा र किराना सामग्री ढुवानी गर्दै आएका कारण ‘तस्करी लाइन’मा परिचित छिन्। लालबन्दीका शेखर गुप्ता पनि अटोमार्फत नै सामान पठाउनेहरूमा गणना हुन्छन्।

यस क्षेत्रमा साना-ठूला प्रायः सबै तस्करी गतिविधि बबिता महतो र हुसैनीकै प्रभावमा चल्ने बताइन्छ। स्थानीय र सुरक्षाकर्मी दुवैले उनीहरूलाई क्रमशः ‘भावी’ र ‘चाची’ भन्ने नामले चिन्न थालेको कुरा स्वयं यो व्यापारको पहुँच कति गहिरो छ भन्ने संकेतका रूपमा लिइन्छ।

सुरक्षाकर्मीको भूमिकाबारे राजनीतिक तहबाट समेत प्रश्न उठ्न थालेका छन्। मधेश प्रदेशका डिआइजी गोविन्द थपलियाले सिन्धुलीमा असई सन्तोष साहलाई घुमुवामा खटाएको र अहिले सर्लाहीको अर्नाहा चौकीमा पनि सोही भूमिकामा परिचालित भएको तथ्य सार्वजनिक भइसकेको छ।

यसबीच, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी योगेन्द्रबहादुर खड्काले तस्करी नियन्त्रणमा कडाइ भइरहेको दाबी गर्छन्। सशस्त्र प्रहरी बल नेपाल नं. १० गणका प्रमुखको भनाइ पनि यही हो-अवैध सामान भेटिए कारबाही हुन्छ। तर स्थानीयको एउटै दाबी छ, “सुरक्षाकर्मीको मिलेमतोबिना सीमा नाकामा रातभर सक्रिय तस्करी सम्भव नै हुँदैन।” सीमाक्षेत्रको यही दैनिकीले प्रशासन, सुरक्षा निकाय र राजनीतिक नेतृत्व सबैलाई गम्भीर प्रश्नको घेरामा उभ्याइरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM