२०८२ मंसिर ११ गते, बिहीबार १७:२२

मुस्लिम नाबालिकासँग विवाह गर्न लागेका चिनियाँ नागरिकसहित तीन जना पक्राउ

काठमाडौँ/बारामा एक चिनियाँ नागरिकले मुस्लिम समुदायकी नाबालिग किशोरीसँग विवाह गर्न लागेको घटनालाई प्रहरीले बीचैमा रोकेको छ। करैयामाई गाउँपालिका–१, हरैयाबाट बुधबार मध्यराति बेहुला–बेहुलीसहित तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कलैयाले जनाएको छ।

प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार पक्राउ परेका व्यक्तिहरूमा चिनियाँ नागरिक, नाबालिग किशोरी र किशोरीका बाबु जाकिर हुसेन रहेका छन्। उनीहरूलाई हाल प्रहरीले कार्यालयमै राखी विस्तृत रूपमा अनुसन्धान गरिरहेको छ।

एसपी कुँवरका अनुसार चिनियाँ युवकसँग पासपोर्ट र भिसा भए पनि विवाह वैधानिक हो–होइन, बालविवाहको जोखिम छ कि छैन र विवाहको उद्देश्य के हो भन्ने विषयमा गहिरो अनुसन्धान भइरहेको छ।

“मध्यराति गाउँबाटै बेहुला-बेहुलीलाई समातेर ल्याइएको हो। पछिल्ला वर्षहरूमा यही क्षेत्रमा चिनियाँ नागरिकसँग मुस्लिम समुदायका महिलाहरू विवाह गर्ने घटना बढेको सूचना हामीसँग छ, त्यसैले यसपटक विस्तृत अनुसन्धान भइरहेको छ,” उनले बताए।

स्थानीयका अनुसार मधेस भूभागमा भारततिर विवाह गर्ने पुरानो प्रचलन भए पनि चिनियाँ नागरिकसँग विवाहका घटना भने पछिल्ला वर्षमा मात्रै देखिन थालेका हुन्। आर्थिक प्रलोभनमा बिचौलियाले यस्तो विवाह गराइदिने गरेको आरोप पनि स्थानीयले लगाएका छन्। गाउँमा एक वर्षयता चिनियाँ नागरिकसँग भएका तीनवटा विवाहबारे समेत चर्चा भइरहेको छ।

वडाध्यक्ष सोनालाल साहका अनुसार पक्राउ परेका चिनियाँ नागरिक विवाह गर्ने उद्देश्यले नै किशोरीको घर पुगेका थिए। उनले बेहुलीलाई १८ वर्ष उमेर पुगेको दाबी गरे पनि प्रहरी भने उमेरसम्बन्धी विवरण थप सत्यापन गर्दैछ।

“यो नयाँ प्रकारको विवाह हो, गाउँमै अचम्मको विषय बनेको छ,” वडाध्यक्ष साहले बताए। काठमाडौँमा बस्दै आएका बेहुलीका आफन्तहरू मार्फत विवाह सम्बन्ध रचिएको प्रारम्भिक जानकारीसमेत प्रहरीले पाएको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM