२०८३ बैशाख १७ गते, बिहीबार ०५:१९

नेपालमा भारतीय उद्योगीको नागरिकता खेल : श्रीमतीको नाउँमा लिए करोडौँ ऋण

वीरगंज । भारतको रक्सौलका उद्योगी रिपुसुदन प्रसादले आफ्नी श्रीमतीको नेपाली नागरिकताको दुरुपयोग गर्दै नेपालका बैंकबाट करोडौं रुपैयाँ ऋण लिएको खुलासा भएको छ।

उनले आफ्नी श्रीमती प्रीति देवीको नाममा ग्लोबल आइएमई बैंकबाट बाराको नितनपुरस्थित शिवम् आयल रिफाइनर्स उद्योग सञ्चालनका लागि झण्डै २७ करोड रुपैयाँ कर्जा निकालेका हुन्।

प्रीति देवी भारतीय नागरिक हुन्। उनले विवाहपूर्व लिएको नेपालको नागरिकता प्रमाणपत्र नं. ५६२, जिल्ला प्रशासन कार्यालय, पर्साबाट २०५३ साल असार १३ गते जारी गरिएको थियो। त्यस नागरिकताको प्रयोग गर्दै उनले नेपालमा बैंक खाता, कारोबार र कम्पनी दर्ता गरेका छन्। तर विवाहपछि उनले भारतको पूर्वी चम्पारण जिल्ला, रक्सौल नगरपरिषद–१२ बाट मतदाता प्रमाणपत्र नं. 10/44/268 र HYJ 2104628 प्राप्त गरी भारतमा २०१२ देखि हालसम्म नियमित रूपमा मतदान गर्दै आएकी छिन्।

यही दुई देशको नागरिकता प्रयोग गरेर उनले नेपालमा ठूलो आर्थिक कारोबार सञ्चालन गरेको पाइएको छ। बाराको नितनपुरस्थित उद्योग दर्ता, सञ्चालन र ऋण प्रक्रियामा रिपुसुदनका साथसाथै भारतकै पवन कुमार साहको सक्रिय भूमिका रहेको तथ्य बाहिर आएको छ।

पवन साह, जसको स्थायी ठेगाना पूर्वी चम्पारण, रक्सौल हो, उनले समेत झूठो विवरण पेस गरी नेपाली नागरिकता लिएको खुलासा भएको छ। उनीमाथि रौतहट जिल्ला प्रशासन कार्यालयबाट प्रारम्भिक नागरिकता लिएर काठमाडौंमा स्थानान्तरण गरेको र हालसम्म त्यसमा उजुरी परेको भए पनि राज्य संयन्त्रको संरक्षणका कारण कारबाही नहुने आरोप लागेको छ।

पवन साहको आपराधिक पृष्ठभूमि पनि कम छैन। प्रहरी रेकर्ड अनुसार उनी भेप, सुनचाँदी र दाल, गहुँ, गुन्द्रीको अवैध कारोबारमा संलग्न छन्। केही महिना अघि उनले बाणिज्य विभागका महानिर्देशकको नक्कली दस्तखत प्रयोग गरी केराउ र पोस्ता दानाको अवैध पैठारी गरेको प्रकरणमा समेत नाम जोडिएको छ। हाल उनी भारतमा फरार छन्।

उनकै पहलमा उनका छोरा शिवम् साह र प्रीति देवीको नाममा “शिवम् आयल रिफाइनर्स उद्योग प्रा.लि.” कम्पनी २०८१ साल चैत ६ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरिएको थियो। उद्योग बाराको नितनपुरमा साहकै पुरानो दालमिल रहेको जग्गामा स्थापना गरिएको हो।

कम्पनीको अधिकृत पूँजी २५ करोड र जारी पूँजी ११ करोड भए पनि, प्रीति देवीले एक्लैले २७ करोड रुपैयाँ ऋण लिएको तथ्य सार्वजनिक भएको छ। ऋणका लागि उनले आफ्नी आमा शान्तिदेवी कलवारको नाममा रहेको सम्पत्ति धितो राखेकी थिइन्।

काठमाडौँ महानगर-२४ मा पर्ने कित्ता नं. १६९१, क्षेत्रफल ४५.७१ वर्गमिटर को घरलाई बैंकले १ करोड ५८ लाख ३० हजार रुपैयाँ मूल्यांकन गरेको थियो। तर सो धितोमा २० करोड रुपैयाँ ऋण स्वीकृत गरिएको बैंकका स्रोतले जनाएका छन्। त्यस्तै वीरगंज महानगर-६, रेशमकोठीस्थित १ कठ्ठा जग्गा र घरमा ७ करोड रुपैयाँ ऋण स्वीकृत भएको पनि पुष्टि भएको छ।

यी सम्पत्तिहरू प्रीति देवीकी आमा शान्तिदेवी कलवारको नाममा रहेकाले, आमाको सम्पत्तिलाई धितो राखी बैंकबाट अत्यधिक ऋण निकालिएको स्पष्ट प्रमाण फेला परेको छ। बैंकमा ऋण स्वीकृतिको सम्पूर्ण प्रक्रियामा पवन कुमार साहले सक्रिय सहजीकरण गरेको र रकम निकाल्ने कार्यमा प्रत्यक्ष भूमिका खेलेको स्रोतले बताएको छ।

शान्तिदेवीकी चार छोरीमध्ये माइली छोरी प्रीति देवीका अनुसार उनका बुवाआमाको सम्पत्ति आफ्नै हकमा परेकाले, त्यसलाई व्यवसाय सञ्चालनमा प्रयोग गरेको बताइन्छ। उनले विवाहपूर्व नेपालमै लिएको नागरिकताको कारण आफू कानूनी रूपमा वैध रहेको दाबी गरेकी छन्। तर भारतमा नियमित रूपमा मतदाता भएर मतदान गरिरहेकी उनको तर्क कानूनी दृष्टिले स्पष्ट रूपमा गैरकानूनी नागरिकता दुरुपयोगको अपराधमा पर्छ।

यो प्रकरणले नेपालका बैंक र वित्तीय संस्थाहरूको ऋण स्वीकृति प्रणाली, नागरिकता प्रमाणीकरण र नियामक निकायको निगरानीमा गम्भीर प्रश्न उठाएको छ।

सवाल के हो भने, कागजातमा भारतको भोटर, व्यवहारमा नेपालकी नागरिक, अनि बैंकमा करोडौं ऋण! यस्तो नागरिकता व्यापार कहिलेसम्म…?

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM