२०८२ आश्विन २६ गते, आईतवार १०:५९

रुङ्गटाको गोकुल अपार्टमेन्ट जग्गामा विवाद, अदालतले दियो रोक्का आदेश

वीरगंज/वीरगंज महानगरपालिका वडा नं. १२ स्थित नव-निर्मित गोकुल अपार्टमेन्टको केही जग्गा सम्बन्धमा विवाद उत्पन्न भएको छ। पर्सा जिल्ला अदालतले प्रदिप कुमार रुङ्गटाको नामबाट दर्ता खारेजी भई गोकुल अपार्टमेन्टको नाममा दर्ता कायम रहेको कित्ता नम्बर ८४, ८७, ९० र २८ जग्गामा रोक्का आदेश जारी गरेको छ, जसअन्तर्गत ती जग्गा कुनै प्रकारको बेचबिखन, दान दातव्य वा हक हस्तान्तरण गर्न पाइने छैन।

अदालतको पत्र अनुसार, मुद्दामा रुङ्गटा थरकै एक जना वादी र प्रतिवादी प्रदिप कुमार रुङ्गटाबीच जग्गा दाबीसम्बन्धी विवाद परेको थियो। अदालतले गत महिनामा प्राप्त निवेदन र प्रतिवादीको प्रतिउत्तरको समीक्षा पछि रोक्का आदेश जारी गरेको हो।

अदालतको आदेश अनुसार, “उक्त रोका प्रयोजन समाझिएकोले कुनै प्रकारको हक हस्तान्तरण नगरी उक्त जग्गामा रोक्का कायम राख्न आदेश दिइएको छ।” आदेश कार्यान्वयनका लागि भूमिसुधार तथा मालपोत कार्यालय, बीरगंजलाई पत्र पठाइएको छ।

यो विवादले गोकुल अपार्टमेन्टको वैधानिकता र जग्गा स्वामित्वमा प्रश्न उठाएको छ। यसअघि यस अपार्टमेन्टलाई लिएर केही अनियमितता र मापदण्ड उल्लंघनका आरोपसमेत सञ्चार माध्यममा उठिसकेका छन्। स्थानीय बासिन्दा र ग्राहकहरूबीच यसको असर र सुरक्षा सम्बन्धमा पनि चासो बढेको छ।

स्थानीय प्रशासनका अनुसार, अदालतको रोक्का आदेश लागू भएपछि कुनै पनि बिक्री-खरीद वा हस्तान्तरणको कार्य तत्काल रोकिएको छ र यसले अपार्टमेन्टको भविष्यमा आउने आर्थिक लेनदेनमा प्रत्यक्ष प्रभाव पार्ने सम्भावना छ।

यस सन्दर्भमा टेलिफोन सम्पर्क गरी बुझ्न खोज्दा गोकुल अपार्टमेन्टका प्रदीप रूंगटाले आफु प्रदीप रूंगटा नभएको प्रतिक्रिया दिए भने उनका छोरा शुभम रूङ्गटाले जग्गा रोक्का भएको विषयमा आफूलाई कुनै जानकारी नै नभएको भनेर छल्ने प्रयास गरेका छन्। तर, अदालतको निर्णय सार्वजनिक भएपछि यस विषयले स्थानीय सम्पत्ति बजारमा चासो र चर्चा निम्त्याएको छ। अपार्टमेन्टमा लगानी लगाउन चाहने व्यक्तिहरूलाई समेत अनावश्यक तनाव र झमेलाको सामना गर्नु पर्ने देखिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM