२०८२ आश्विन २५ गते, शनिबार २२:४३

गाउँमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय दङ्ग

राधेश्याम साह

रौतहट, १३ असोज ।

रौतहटको राजदेवी नगरपालिका–१ मा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरले स्थानीयवासीमा ठूलो राहत पुर्‍याएको छ। दशैँको अवसर पारेर गाउँमै उपचार सुविधा उपलब्ध भएपछि बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म उत्साहित भएका छन्।

राप्ती प्रादेशिक अस्पताल किर्तिपुर, दाङका प्रमुख तथा कन्सल्टेन्ट फिजिसियन (११ तह) डा. जितनारायण यादवले आफ्नो जन्मस्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन्। समाजसेवी चिकित्सकका रूपमा परिचित डा. यादवले हरेक चाडपर्व वा बिदाको अवसरमा गाउँ फर्कँदा निःशुल्क उपचार सुविधा उपलब्ध गराउने गरेका छन्।

यसपटक डा. यादवकी छोरी डा. नेहा यादव, प्रादेशिक अस्पताल गौरका चिकित्सक डा. दिनेश साह, सहयोगी उपेन्द्र त्रिवेदीसहितको टोलीले विभिन्न रोगका बिरामीको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरेका थिए। शिविरमा करिब ५०० जनाले सेवा लिएका आयोजकले जानकारी दिएका छन्।

डा. यादवले गाउँमै उपचारको व्यवस्था मिलाउनाको उद्देश्यबारे भन्दै भने, “कतिपय बिरामी आर्थिक अभावका कारण उपचार विना घर फर्किन बाध्य हुन्छन्। म आफ्नै गाउँका नागरिकलाई रोग पालेर बस्न नपरोस् भन्ने सोचका साथ स्वास्थ्य सेवा ल्याएको हुँ।”

७६ वर्षीय स्थानीय रामभरोस साहले पनि यस सेवाबाट राहत पाएको अनुभव सुनाउँदै भने, “गौर वा अन्य अस्पतालमा उपचार गर्न जाँदा लामो लाइन र खर्चको समस्या हुन्छ। यहाँ गाउँमै निःशुल्क उपचार पाउँदा निकै सजिलो भयो।”

गरीबी र दुर्गम पहुँचका कारण स्वास्थ्य उपचारबाट वञ्चित हुने अवस्थालाई सम्बोधन गर्ने उद्देश्यले गरिएको यो पहललाई गाउँलेले सराहना गरेका छन्।

 

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM