चितवन, ९ असोज/
मुग्लिन-नारायणगढ सडकखण्डको तुइन खोलानजिक झरेको पहिरो पन्छाउने कार्य तीव्र गतिमा भइरहेको छ। सडक डिभिजन भरतपुरका अनुसार हालसम्म करिब ६० प्रतिशत काम सम्पन्न भइसकेको छ र कुनै अवरोध नआए रातीसम्ममा पूर्ण रूपमा सडक सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
नारायणगढतर्फबाट एक्साभेटर एक र लोडर एकसहित, मुग्लिनतर्फबाट दुई लोडर र एक एक्साभेटर परिचालन गरिएको छ। साथै, दुवै तर्फ एक–एक ब्याक हो लोडर पनि तयारी अवस्थामा तैनाथ छन्। तर, कार्यक्षेत्र साँघुरो भएकाले एकैपटकमा अधिकतम पाँचवटा उपकरण मात्र प्रयोग गर्न सकिने अवस्था रहेको सडक डिभिजनले जनाएको छ।
पहिरो पन्छाउने क्रममा नारायणगढ साइडमा ठूला ढुङ्गा भएका कारण केही कठिनाइ भएको बताइएको छ। “उपकरणहरूले पूर्ण क्षमताका साथ काम गरिरहेका छन्,” डिभिजनले जनाएको छ। तर, ढुंगाले टायर पञ्चर गर्ने, अपरेटर घाइते हुने जोखिमसमेत रहँदा प्रगतिमा केही ढिलाइ भएको हो। यसलाई सहज बनाउन हेटौंडा र डुम्रेबाट थप दुईजना अपरेटर समेत पठाइएको छ।
डिभिजनले अवरोध नआएमा निरन्तर कामको आधारमा आज रातिसम्ममा सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउने विश्वास व्यक्त गरेको छ।