२०८३ बैशाख २५ गते, शुक्रबार ०२:२३

पत्रकार वियोगीको कथासङ्ग्रह ‘सत्यम्’माथि व्यापक विमर्श सम्पन्न

काठमाडौँ/ पत्रकार तथा कथाकार लक्ष्मण वियोगीको चर्चित कथासङ्ग्रह ‘सत्यम्’को गहिरो समीक्षा एक विशेष कार्यक्रमकाबीच सम्पन्न भएको छ। पुतलीसडकस्थित ग्रीन लिफ रेस्टुरेन्टमा वरिष्ठ साहित्यकार र समालोचकहरूको उपस्थितिमा आयोजित विमर्शमा पुस्तकका विभिन्न पहलुहरूमा विस्तृत टिप्पणी गरियो।

कार्यक्रमको अध्यक्षता वरिष्ठ साहित्यकार तथा समालोचक प्रा. डा. गोविन्दराज भट्टराईले गरेका थिए, जबकि प्रमुख अतिथिको रूपमा डा. तुलसीप्रसाद भट्टराई उपस्थित थिए। विमर्शको प्रमुख वक्ताको रूपमा प्रा. डा. कुमारप्रसाद कोइरालाले मन्तव्य प्रस्तुत गरे। लेखक तथा पत्रकार राजेश खनालले कार्यक्रमको सञ्चालन गरेका थिए। कृतिमा समेटिएका १५ कथाहरूका बारेमा समालोचनात्मक टिप्पणी गर्दै डा. अशोक थापा, डा. शोभा ढुंगाना, टेकनारायण ढकाल, जानुका खतिवडा र देवी तिमल्सिनाले आफ्नो विचार प्रस्तुत गरेका थिए।

समालोचक डा. थापाले पुस्तकका प्रमुख कथाहरू ‘चुन्कीको रहस्य’, ‘छुटेका पानीहाँस’ र ‘क्रमु’मा टिप्पणी गर्दै कथाले पाठकलाई सहज रूपमा नसमेट्ने चुनौतीहरूको उल्लेख गरे। उनका अनुसार ‘चुन्कीको रहस्य’को प्रारम्भिक भाषाशैलीले कथा सुस्पष्ट बनाउनेमा अवरोध उत्पन्न गरेको छ, भने ‘क्रमु’ कथामा प्रेमको यथार्थ चित्रणले अझै बढी सशक्त हुन सक्ने सुझाव दिएका थिए। ‘छुटेका पानीहाँस’को समिक्षा गर्दै उनले विशेषत: कथाका अन्तिम अंशको रहस्यलाई लाजमर्दो भने।

समालोचक डा. शोभा ढुंगानाले कृतिको यथार्थपरक दृष्टिकोणलाई उच्च मापदण्डमा राख्दै माओवादी विद्रोहका समयमा उत्पन्न पीडा र आघातलाई समेटिएको बताएका छन्। उनका अनुसार, वियोगीले पुरुष भइकन पनि विद्रोही युवतीको पीडालाई गहिरो रुपमा उजागर गर्न सफल भएका छन्।

वही, समालोचक टेकनारायण ढकालले कृतिमा माओवादी द्वन्द्व र युद्धको पृष्ठभूमि आधारको असल चित्रणलाई स्वीकार गर्दै भने, “वियोगीले कथालाई वास्तविकताको हदसम्म प्रस्तुत गरेको छ।”

अर्का समालोचक जानुका खतिवडाले आञ्चलिकता र स्थानीय शब्दावलीको प्रयोगलाई कृतिका मुख्य विशेषताहरूको रूपमा प्रस्तुत गरे। उनले कथाका परिवेश र वर्णनलाई प्रभावकारी हुने बताएका छन्।

महेश पौड्यालले कृतिमा प्रस्तुत गरिएको सत्य र असत्यको अन्तरद्वन्द्वलाई आलोचनात्मक दृष्टिकोणबाट विश्लेषण गर्दै भने, “सत्यम्’ले झल्काएको यथार्थ नै आजको समाजको प्रतिबिम्ब हो।” यसै क्रममा, उनले कथाकार वियोगीलाई आफ्नो लेखनमा अझ बढी राजनीतिक पक्षधरता र पक्षपाती विचारबाट बच्न आग्रह गरे।

प्रमुख वक्ता प्रा. डा. कोइरालाले ‘सत्यम्’को रचनामा आञ्चलिकता, सामाजिक यथार्थ, कारुणिकता र स्वैरकल्पना जस्ता तत्वहरूलाई जोड दिए। उनले कथामा काव्यिक भाषाशैलीको अधिक प्रयोगलाई एकदमै प्रभावकारी भने, यद्यपि यथार्थ चित्रणमा सुधार गर्न सकिने स्थान पनि रहेको बताए।

कार्यक्रममा प्रमुख अतिथि डा. भट्टराईले वियोगीका कथाहरूलाई ‘उम्दा लेखनको नमुना’ भन्दै कृतिमा देखिएका शब्द प्रयोग र शैलीलाई उत्कृष्टताको परिचायक मान्दै आगामी लेखनका लागि बधाई दिए। उनले कथाको निबन्धात्मक शैली र समकालीन मुद्दाहरूसँगको सजीव सम्बन्धलाई सकारात्मक टिप्पणी गरे।

समीक्षात्मक विमर्शको समापन गर्दै प्रा. डा. भट्टराईले लक्ष्मण वियोगीको लेखनशैली र रचनात्मक क्षमता उच्च स्तरको भएको भन्दै आगामी दिनमा उपन्यास लेखनतर्फ पनि उनलाई प्रोत्साहन दिए।

कार्यक्रममा साहित्यिक पत्रकार, पत्रकार र विभिन्न साहित्यिक समाजका सदस्यहरूको उपस्थिति थियो।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM