२०८३ बैशाख १८ गते, शुक्रबार २१:११

लागूऔषध नियन्त्रणमा प्रहरीको सक्रियता: एक वर्षमा ८ हजार नजिक अभियुक्त पक्राउ

काठमाडौं, १४ साउन – लागूऔषधको अवैध कारोबार र ओसारपसार नियन्त्रणका लागि सुरक्षासम्बन्धी निकायहरूले पछिल्लो वर्ष उल्लेखनीय सक्रियता देखाएका छन्। गृह मन्त्रालयको नेतृत्वमा सञ्चालनमा आएको अभियानअन्तर्गत प्रहरीले देशभरबाट ७ हजार ९४३ जना लागूऔषधसँग सम्बन्धित अभियुक्तलाई पक्राउ गरेको छ।

नेपाल प्रहरी लागूऔषध नियन्त्रण ब्युरोका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा दर्ता गरिएका ५ हजार ११० मुद्दामार्फत सो संख्यामा पक्राउ गरिएको हो। अघिल्लो वर्षको तुलनामा यो संख्या १ हजार २ सय १ ले बढी हो। आर्थिक वर्ष २०८०/८१ मा ६ हजार ७४२ जना पक्राउ परेका थिए।

ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार पक्राउ पर्नेहरूमा ७ हजार १९७ पुरुष, ४२१ महिला, ३०७ भारतीय नागरिक तथा १८ अन्य देशका नागरिक छन्।

उक्त अवधिमा प्रहरीले विभिन्न प्रकारका लागूऔषधहरू बरामद गरेको छ। जसमध्ये २० किलो ९२८ ग्राम कोकिन, १८५ किलो ५८ ग्राम अफिम, ४८ किलो ४६५ ग्राम खैरो हिरोइन, ८२९ किलो चरेश, ५१ किलो ४३९ ग्राम गाँजा तथा ठूलो मात्रामा एम्पुल, नाइट्राजेपाम र कोडिन सिरप पनि बरामद भएका छन्।

नेपालमा लागूऔषधको प्रयोग विशेष गरी युवावर्गमा बढ्दै गएको सुरक्षासम्बन्धी निकायको भनाइ छ। लागूऔषधको दुरुपयोगले आत्महत्या, सडक दुर्घटना र अन्य आपराधिक गतिविधिमा समेत असर पुर्‍याइरहेको अधिकारीहरूले बताउँदै आएका छन्।

विगत केही वर्ष यता लागूऔषधसम्बन्धी मुद्दा र पक्राउको संख्या निरन्तर बढ्दै गएको देखिन्छ। आर्थिक वर्ष २०७९/८० मा ६ हजार १ सय ८६ जना, २०८०/८१ मा ६ हजार ७ सय ४२ जना र २०८१/८२ मा ७ हजार ९ सय ४३ जना पक्राउ परेका छन्।

उक्त अवधिमा ब्युरोले मात्रै १ हजार ६ सय ७५ जना विरुद्ध मुद्दा चलाएको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ५ सय बढी हो।

सशस्त्र प्रहरी बल नेपालले पनि यो अभियानमा सक्रियता देखाएको छ। सशस्त्र प्रहरीका अनुसार गत वर्ष ४ सय ६० जनालाई लागूऔषध कारोबार र ओसारपसारमा संलग्न भएको अभियोगमा पक्राउ गरिएको छ।

‘नशा रहित युवा–हाम्रो देशका कर्णधार’ भन्ने नाराका साथ सशस्त्र प्रहरीले सीमा क्षेत्रमा निगरानी बढाएको जनाएको छ।

प्रहरीका अनुसार मुलुकभित्र खैरो हिरोइन, एम्पुल, नाइट्राजेपाम, टामाडोल जस्ता औषधिको प्रयोग बढ्दो छ भने कोकिन, अफिम, चरेश र गाँजा भारततर्फ तस्करी हुने गरेको छ।

सुरक्षासम्बन्धी निकायहरूले लागूऔषध नियन्त्रणलाई प्राथमिकतामा राख्दै सक्रियता बढाएको अवस्था ब्युरो तथा सशस्त्र प्रहरीको तथ्यांकबाट देखिन्छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM