२०८३ बैशाख १७ गते, बिहीबार ०४:१५

समर्पण र संवेदनाको मिठाससहित प्रतिमा अर्यालको ‘दामी देखिन्छौ’ तीज गीत सार्वजनिक (भिडियोसहित)

साउन ३, काठमाडौं ।

लोकगायनमा विशेष छवि बनाएकी गायिका प्रतिमा अर्यालले आफ्नो नयाँ गीत ‘दामी देखिन्छौ’ सार्वजनिक गरेकी छिन्। काँठे भाकामा सशक्त पहिचान बनाएकी अर्यालले यसपटक भने गीतमा फरक स्वाद दिने प्रयास गरेकी छन्। गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो।

 

गायिका अर्याललाई यस गीतमा गायक नमराज पाण्डेले स्वरमा साथ दिएका छन्। शब्द, संगीत र संगीत संयोजनको पक्ष पनि पाण्डे र महेन्द्र भण्डारीले सम्हालेका छन्। भिडियोको निर्देशन तथा कोरियोग्राफी **शंकर वि.सी.**ले गरेका छन् भने दृश्य सम्पादन नविन घर्ती मगरको रहेको छ। भिडियोमा शंकरसँगै लोसिना लामिछाने र मनोहर श्रेष्ठको अभिनय देख्न सकिन्छ। राजेश घिमिरेको छायांकनले भिडियोमा थप सौन्दर्य प्रदान गरेको छ।

६ सयभन्दा बढी गीतमा स्वर दिइसकेकी प्रतिमा अर्याल काँठे भाकाकी चर्चित गायिका हुन्। उनका ‘ओए गनगन’, ‘सेतो सेतो कमेरो माटो’, ‘लाग्छ माया’, ‘गैरी पीपल’, ‘मेरो काले’, ‘सान्नानी’, ‘उडी जाने रानी चरी’, ‘पूर्वतिर घाम छ’ जस्ता गीतहरूले स्रोतामाझ राम्रो स्थान बनाएका छन्।

तर ‘दामी देखिन्छौ’ ले भने उनलाई भिन्न शैलीमा प्रस्तुत गरेको छ। तीज पर्वको सामाजिक परिवेशलाई केन्द्रमा राख्दै, गीतमा विवाहित महिलाको संवेदना र समर्पणलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ।

गीतमार्फत जीवनसाथी टाढा भए पनि आत्मीय सम्बन्ध र विश्वासको जग कस्तो बलियो हुनुपर्छ भन्ने सन्देश दिन खोजिएको छ। गायिका अर्यालका अनुसार, “नियत स्पष्ट भए व्यवहारिक चुनौतीहरूलाई सहज रूपमा लिन सकिन्छ। गीतमा त्यही भाव बोकेको छु।”

समसामयिक सन्दर्भ, सांगीतिक विविधता र कलात्मक प्रस्तुतीका कारण ‘दामी देखिन्छौ’ गीतले दर्शक–श्रोताको मन जित्ने अपेक्षा गरिएको छ।

हेर्नुहोस् भिडियो :

 

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM