काठमाडौं, २७ असार ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मानव सभ्यताको दीर्घकालीन अस्तित्वका लागि जनसंख्याको सन्तुलित वृद्धि अपरिहार्य भएको बताएका छन्। विश्व जनसंख्या दिवसको अवसरमा बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको ‘राष्ट्रिय जनसंख्या नीति, २०८२’ सार्वजनिक कार्यक्रममा बोल्दै उनले समयमा विवाह गर्ने र सन्तान उत्पादनमा लाग्न नागरिकलाई आग्रह गरे।
प्रधानमन्त्री ओलीका अनुसार समृद्धि र विकाससँगै जनसंख्याको पनि सन्तुलित रूपले वृद्धि हुन जरुरी छ, अन्यथा मानव जातिको नै अस्तित्व संकटमा पर्नसक्छ। उनले भने, “धर्तीमा मानव जातिको उपस्थिति मात्र हैन, निरन्तरता पनि आवश्यक छ। हामीले सन्तान जन्माउने विषयलाई व्यक्तिगत स्वार्थभन्दा पर राखेर धर्तीप्रति जिम्मेवारीका रूपमा लिनुपर्छ।”
उनले विश्वभर भइरहेका युद्ध र हिंसाले लाखौंको ज्यान लिइरहेको उल्लेख गर्दै, जनसंख्याका विषयमा गोष्ठी र बहस गर्ने तर अर्कोतर्फ मानव विनाशका साधन उत्पादन गर्ने प्रवृत्तिले मानव सभ्यताको आधार नै हल्लिएको बताए। “जनसांख्यिक असन्तुलन दीर्घकालीन रूपमा स्वीकार्य हुँदैन,” प्रधानमन्त्रीले भने, “धेरै देशहरूमा जनसंख्या नघट्ने अवस्था आउँदा राष्ट्रिय अस्तित्व नै संकटमा परेको देखिन्छ।”
प्रधानमन्त्री ओलीले सरकारले २० वर्षको उमेरपछि मात्र विवाह गर्न सकिने कानुनी व्यवस्था गरेको स्मरण गराउँदै, सोही कानुन अनुसार समयमै विवाह गरी ३० वर्ष पुग्नुअघि तीन सन्तान पाइसक्ने सामाजिक सन्देशप्रति समर्थन जनाए। “चालीस कटेपछि रमाउला भन्ने गीतमा मात्र अल्झनु हुँदैन,” उनले भने।
सन्तानको संख्या घट्दै गएकाले देशको भावी उत्पादनशील जनशक्ति नै संकटमा पर्ने चिन्ता पनि उनले व्यक्त गरे। साथै, “सन्ताले डाँडाकाँडा ढाकुन्” भन्ने उखानको आलोचना गर्दै, सन्तानप्रति यस्ता अपेक्षा राख्दा उल्टै सन्तान नजन्माउने प्रवृत्ति हावी हुने खतरा औंल्याए।
उनको भनाइमा, विश्वका धेरै विकसित मुलुकहरूमा जनसंख्या वृद्धिदर ऋणात्मक भइसकेको सन्दर्भ उल्लेख गर्दै, नेपालले समयमै सन्तुलित नीति अवलम्बन गर्नुपर्ने आवश्यकता छ। नयाँ सार्वजनिक गरिएको ‘राष्ट्रिय जनसंख्या नीति, २०८२’ को प्रभावकारी कार्यान्वयनमार्फत यस चुनौतीको सामना गर्न सकिने प्रधानमन्त्रीको विश्वास छ।
















