२०८३ बैशाख ६ गते, आईतवार १५:३८

सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप, ६ जना सुरक्षाकर्मी घाइते

जनकपुर, धनुषा – धनुषाको विदेह नगरपालिका–२ स्थित वैदेही दुहबीमा बिहीबार साँझ तस्करी नियन्त्रणका क्रममा सशस्त्र प्रहरी बल नेपाल र तस्कर समूहबीच झडप भएको छ। घटनामा परी सशस्त्र प्रहरीका ६ जना जवान घाइते भएका छन्।

सशस्त्र प्रहरी उपरीक्षक (एसपी) निर्मल खड्काका अनुसार साँझ करिब ७ बजेतिर तस्करीको मालसामान भारतबाट भित्र्याई स्थानीय आँपको बगैंचामा लुकाइ राखिएको भन्ने सूचनाका आधारमा ३० जनाको सशस्त्र प्रहरी टोली परिचालन गरिएको थियो।

प्रहरी टोली स्थलमा पुग्नासाथ तस्कर समूहले घरेलु हतियार, भाटा र ढुंगामुढासहित आक्रमण थालेको एसपी खड्काले जानकारी दिए। “उनीहरू संगठित ढंगले प्रस्तुत भए र प्रहरीमाथि प्रत्यक्ष आक्रमण गरे,” खड्काले भने, “नियन्त्रणको प्रयासमा ६ जना प्रहरी घाइते भए।”

घाइते प्रहरीको अहिले जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। घटनास्थल तनावग्रस्त बनेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड हवाई फायर तथा १३ राउन्ड अश्रुग्यास प्रहार गरेको जनाएको छ।

घटनास्थलमा अहिले थप सुरक्षाकर्मी परिचालन गरिएको छ भने तस्करको पहिचान र पक्राउका लागि अनुसन्धान तीव्र पारिएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM