गण्डक (नेपाली) नहर अब पूर्ण क्षमतामा सञ्चालन, ३५ करोडको डिसिल्ट्रेसन प्रणालीको उद्घाटन जेठ २६ गते
नवलपरासी, २५ जेठ ।
पश्चिम नवलपरासीस्थित ऐतिहासिक गण्डक (नेपाली) नहर अब पूर्ण क्षमतामा सञ्चालनमा आउने भएको छ। करीब चार दशकअघि, २०३९ सालमा निर्माण सम्पन्न भएको यो नहरको सिंचाई क्षमता ८७०० हेक्टर रहेको छ। तर विगत लामो समयदेखि नियमित मर्मतसम्भार नहुँदा र नदीको बालुवा नहरमा थुप्रिँदै जाँदा यसको क्षमता घटेर २० प्रतिशत मात्र रहन पुगेको थियो।
प्रतिनिधिसभा सदस्य विनोद चौधरीका अनुसार २०७९ सालमा निर्वाचित भएपछि आफूले यो नहरलाई पुनः पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने प्रतिबद्धताका साथ काम अघि बढाएको र हाल सो प्रतिबद्धता कार्यान्वयनको चरणमा पुगेको हो। उनका अनुसार, नहरमा ३५ करोड रुपैयाँ लगानी गरी डिसिल्ट्रेसन प्रणाली जडान गरिएको छ, जसले नदीको बालुवा नहरमा पस्न नदिने व्यवस्था मिलाएको छ।
“अब यो नहर पूर्ण क्षमतामा सञ्चालन हुँदैछ र यसबाट साविकभन्दा पाँच गुणा बढी क्षेत्रफलमा सिंचाई सुविधा उपलब्ध हुनेछ,” चौधरीले सामाजिक सञ्जालमा लेखेका छन्। उनका अनुसार यस उपलब्धिका कारण नवलपरासीका किसानको अनुहारमा खुसी छाएको छ।
डिसिल्ट्रेसन परियोजनाको समुद्घाटन कार्यक्रम जेठ २६ गते सोमबारका दिन आयोजना गरिएको छ, जसमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का स्वयं उपस्थित हुने तय भएको छ।
प्रतिनिधि चौधरीले यो परियोजनालाई आफ्नो निर्वाचन क्षेत्रमा सम्पन्न गरिएका ठोस उपलब्धिमध्ये एक महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गर्दै आम जनसमक्ष साझा गरेका छन्।