सिरहा/ सिरहा प्रहरीले लागूऔषध कारोबारमा संलग्न पाँच जनालाई पक्राउ गरी नगदसहित सार्वजनिक गरेको छ। आइतबार जिल्ला प्रहरी कार्यालय सिरहाले पत्रकार सम्मेलन गर्दै खैरे हिरोइन तथा ठूलो मात्रामा नगदसहित उनीहरूलाई सार्वजनिक गरेको हो।
प्रहरीका अनुसार पक्राउ परेकामा लहान नगरपालिका–१२ निवासी ३२ वर्षीय दिनेश कुमार यादव, उनकी बहिनी २६ वर्षीया किरण कुमारी यादव, बरियारपट्टी गाउँपालिका–३ का २० वर्षीय कृष्ण कुमार यादव र १९ वर्षीय निरज राय, तथा सिरहा नगरपालिका–२ का ४५ वर्षीय संजय कारक रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट करिब ७० लाख ५३ हजार ६५५ रुपैयाँ नेपाली र ३५ हजार ७८० भारतीय रुपैयाँ नगद बरामद गरेको छ। साथै, बरामद सामग्रीमा खैरे हिरोइन पनि रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) विरेन्द्र पासवानका अनुसार उनीहरूमाथि लागूऔषध सम्बन्धी मुद्दा दर्ता गरी सिरहा जिल्ला अदालतबाट म्याद थप गरिएको छ र आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।
प्रहरीले लामो समयदेखि निगरानीमा राखी विशेष सूचनाको आधारमा संयुक्त टोली परिचालन गरी उनीहरूलाई पक्राउ गरेको हो।