२०८२ आश्विन २६ गते, आईतवार १३:१८

गरुडामा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

रमेश कुमार यादव
रौतहट/
सवारी दुर्घटनाको रोकथाम र न्यूनीकरणका लागि गरुडा नगरपालिकामा आयोजित अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। अस्थायी ट्राफिक प्रहरी पोष्ट, गरुडा द्वारा आयोजित उक्त कार्यक्रम जिल्ला ट्राफिक प्रहरी कार्यालय, रौतहटका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा सवारी दुर्घटनाको प्रमुख कारण, त्यसको न्यूनीकरण तथा समन्वित व्यवस्थापनमा स्थानीय सरकार, राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी र सुरक्षाकर्मीको भूमिकाबारे गहिरो छलफल गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि गढिमाई नगरपालिकाका नगरप्रमुख श्यामप्रसाद यादवले हेल्मेट नलगाउने सवारी चालकको सिफारिसमा हुने राजनीतिक हस्तक्षेपलाई तत्काल रोक्नुपर्ने आवश्यकता औंल्याउँदै, यस्तो सिफारिसले ट्राफिक नियम उल्लंघनलाई प्रोत्साहन दिने भन्दै कडा आपत्ति जनाए। उनले भने, “दुर्घटना न्यूनीकरणको साझा प्रयासमा सबै सरोकारवालाको जिम्मेवारी स्पष्ट हुनुपर्छ।”

कार्यक्रममा स्वागत मन्तव्य दिँदै अस्थायी ट्राफिक प्रहरी पोष्ट गरुडाका प्रमुख तथा प्रहरी सहायक निरीक्षक रामबली महतोले सवारी सचेतना अभिवृद्धि गर्दै दुर्घटना न्यूनीकरणका उपायहरूमा साझा छलफलका लागि यो कार्यक्रम आयोजना गरिएको जानकारी गराए।

गरुडा नगरपालिका–५ का वडाध्यक्ष रामबिनोद साहले नगर क्षेत्रमा बढ्दो सवारी चाप र मदिरा सेवनपछि सवारी सञ्चालन गर्ने प्रवृत्तिले दुर्घटनाको दर बढाएको उल्लेख गर्दै कडा निगरानी र कानूनी कार्यान्वयनमा जोड दिए।

जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सल्लाहकार राजकुमार दासले भारतबाट प्रवेश गर्ने सवारी साधनहरूको तथ्याङ्क संकलन गरेर नीति निर्माणमा आधारित निर्णय लिनुपर्नेमा जोड दिँदै सामूहिक प्रयासमार्फत मात्र दुर्घटना न्यूनीकरण सम्भव हुने धारणा राखे।

कार्यक्रमको समापन गर्दै प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीले पछिल्ला १० वर्षमा सवारी दुर्घटनाबाट करिब २५ हजार नागरिकले ज्यान गुमाएको तथ्य प्रस्तुत गर्दै यो समस्यालाई ‘शान्त समयमा भइरहेको गम्भीर संकटकाल’ को रूपमा उल्लेख गरे। उनले ट्राफिक नियमको पूर्ण पालना, सवारी शिक्षा, संरचनागत सुधार, सीसीटीभी जडान, स्थायी चेकपोष्टको व्यवस्थापन र कानूनी कठोरता आवश्यक रहेको स्पष्ट पारे।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, वडाध्यक्षहरू, होटल व्यवसायी, उद्योग वाणिज्य संघ, सञ्चारकर्मी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले ट्राफिक सचेतना, ट्राफिक नियम पालनाको निगरानी, सडक पूर्वाधार सुधार र प्रविधिको प्रयोगमा विशेष जोड दिएका थिए।

सरोकारवाला निकायबीच समन्वय र सहकार्यको वातावरण बनाउने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम आगामी दिनमा गरुडा मात्र नभई रौतहट जिल्लाका अन्य पालिकाहरूमा पनि निरन्तरता दिइने आयोजक पक्षले जानकारी गराएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM