२०८३ बैशाख २० गते, आईतवार ००:२६

पाँच सय वर्ष पुरानो मठमा शिक्षित महन्थको आगमन : मटिहानीबाट वैदिक जागरणको नयाँ यात्रा सुरु

प्रेमचन्द्र झा

महोत्तरी, मटिहानी।

मिथिलाञ्चलको सांस्कृतिक, धार्मिक र शैक्षिक दृष्टिले विशिष्ट स्थान राख्ने मटिहानीस्थित श्री लक्ष्मी नारायण मठले नयाँ नेतृत्व प्राप्त गरेको छ। डा. रविन्द्र दास वैष्णव, जो संस्कृत साहित्यका ज्ञाता तथा वैष्णव परम्पराका गम्भीर साधक हुन्, हालै नेपाल सरकार अन्तर्गतको गुठी संस्थानको सिफारिसमा मठको महन्थ पदमा नियुक्त भएका हुन्।

चैत १८ गते, २०८१ मा मठ परिसरमा आयोजित विशेष समारोहका बीच डा. वैष्णवले पदभार सम्हालेका थिए। सो अवसरमा नेपाल र भारतका वैष्णव सम्प्रदायका साधु-सन्त, संस्कृत विद्वान, सांस्कृतिक अभियन्ता र स्थानीय श्रद्धालुको उल्लेख्य उपस्थिति थियो। कार्यक्रमले मठको समृद्ध परम्परालाई सम्मान गर्दै भावी सम्भावनाहरू प्रति आशा र विश्वासको वातावरण सिर्जना गर्‍यो।

बथनाहा, मनरा सिस्वा नगरपालिका–९ मा वि.सं. २०३८ मा जन्मिएका डा. वैष्णव बाल्यकालदेखि नै वैदिक शिक्षामा आकर्षित थिए। ब्रह्मचर्य, वैष्णव आस्था र धार्मिक अनुशासनमा दृढ उहाँले संस्कृत साहित्यमा विद्यावारिधिसमेत हासिल गरेका छन्। मिथिला क्षेत्रमा संस्कृत शिक्षाको जगेर्ना, धार्मिक संस्कारको सुदृढीकरण र सांस्कृतिक चेतनाको प्रवर्द्धनमा उहाँको उल्लेखनीय योगदान रहँदै आएको छ।

करिब पाँच सय वर्ष पुरानो इतिहास बोकेको श्री लक्ष्मी नारायण मठ मिथिलाको सांस्कृतिक नाभिकेन्द्र मानिन्छ। वैष्णव सम्प्रदायअनुसार मठका प्रमुख ब्रह्मचारी, संयमी र अविवाहित साधुहरूमध्येबाट चयन हुने परम्परा आजसम्म कायम छ। यहाँको मूल मन्दिरमा श्री लक्ष्मी नारायणको पूजा–आराधना गरिन्छ भने अनुष्ठान विधिहरू शुद्ध मिथिला परम्परालाई जीवित राख्ने माध्यम बनेका छन्। मठसँग आवद्ध याज्ञवल्क्य लक्ष्मी नारायण संस्कृत विद्यापीठ वेद, व्याकरण, मीमांसा र दर्शन शिक्षणमा प्रसिद्ध शिक्षालय हो।

डा. वैष्णवले मठको ऐतिहासिक र धार्मिक महत्त्व उल्लेख गर्दै रामायणकालमा अयोध्याबाट आएको बारातका लागि यहीँको सरोवरबाट माटो संकलन गरिएको जनविश्वास स्मरण गरे। त्यसैको आधारमा ‘मटिहानी’ भन्ने नाम रहन गएको धार्मिक मान्यता छ।

पदग्रहण समारोहमा उनले मठलाई धार्मिक केन्द्रमात्र सीमित नराखी, शैक्षिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको थलो बनाउने आफ्नो दूरदृष्टि प्रस्तुत गरे। मठको पुस्तकालय सुधार, विद्यार्थीका लागि छात्रावास निर्माण, सरोवरको सफाइ तथा भौतिक पूर्वाधारको संरक्षणका कार्यक्रम सञ्चालन गर्ने उनले बताएका छन्। साथै, नेपाल–भारतबीचको सांस्कृतिक सेतुका रूपमा मठलाई अझ उचाइमा पुर्‍याउने उनको सोच धार्मिक पर्यटन प्रवर्द्धनमा समेत उपयोगी हुन सक्ने देखिन्छ।

स्थानीय बासिन्दा, श्रद्धालु र संस्कृत शिक्षामा संलग्न व्यक्तिहरू डा. वैष्णवको आगमनले मठमा नयाँ उर्जा, अनुशासन र व्यवस्थापन आउनेमा आशावादी छन्। श्रद्धालु रामेश्वर झा भन्छन्, “नयाँ महन्थ शिक्षित, विनम्र र निष्ठावान हुनुहुन्छ। उहाँको संयमित नेतृत्वले मठलाई फेरि गौरवशाली बनाउने छ।”

डा. वैष्णवको नेतृत्वमा श्री लक्ष्मी नारायण मठले परम्परा र समकालीन आवश्यकताबीच सन्तुलन कायम गर्दै एक नवीन अध्यायको शुभारम्भ गरेको छ। यसले न केवल धार्मिक आस्थालाई बल दिनेछ, बरु संस्कृत शिक्षाको सशक्तिकरण र सांस्कृतिक समृद्धिको मार्गसमेत खोल्ने अपेक्षा बढेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM