२०८३ बैशाख २० गते, आईतवार ०६:३७

पचरौता नगरपालिकाका पूर्व निमित्त प्रमुख प्रशासकीय अधिकृत र लेखापालमाथि भ्रष्टाचार मुद्दा

काठमाडौं । बाराको पचरौता नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव र लेखापाल हासिम मियाँ अन्सारीविरुद्ध भ्रष्टाचारको अभियोगमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध आर्थिक अनियमितताको उजुरीको आधारमा अनुसन्धान गरी मुद्दा अघि बढाएको हो।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, सार्वजनिक खरिद ऐनको उल्लंघन गर्दै आवश्यक सूचना राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशन नगरी ठेक्का प्रक्रिया अघि बढाइएको पाइएको छ। आर्थिक वर्ष २०७७/७८ मा नगरपालिका मार्फत सञ्चालन गरिएका दुई ठेक्कासम्बन्धी सूचना प्रभाव दैनिक नामक पत्रिकामा मात्र राखिएको पाइयो, जुन सार्वजनिक जानकारीका लागि होइन, केवल अभिलेखको प्रयोजनका लागि गरिएको देखिएको छ।

जसको आधारमा केएस मल्टिपर्पोज प्रालिलाई झुट्टा विवरणसहित ३ लाख ५२ हजार ५६० रुपैयाँ भुक्तानी गरिएको पुष्टि भएको आयोगको दाबी छ। उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१)(ङ) अनुसार दण्डनीय मानिएको छ।

यस प्रकरणमा केएस मल्टिपर्पोज प्रालिका अध्यक्ष कमलकुमार उपाध्यायलाई पनि सोही रकमको हानीसहित मुद्दा चलाइएको छ, किनभने उनले नै राष्ट्रिय दैनिकमा सूचना नछपाई प्रभाव दैनिकमा मात्रै सूचना प्रकाशित गराई भुक्तानी लिएका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM