२०८३ बैशाख २७ गते, आईतवार ०२:४३

पिकअप गाडीमा लोड गरिएको अबैध कपडा नियन्त्रणमा, सशस्त्र प्रहरीले भन्सारमा बुझायो

वीरगञ्ज, चैत २४ – भारतबाट अबैध रुपमा चोरी पैठारी गरी ल्याइएको कपडा सहितको पिकअप गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको छ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्सा अन्तर्गत प्रस्तावित सीमा सुरक्षा गुल्म, वीरगञ्जबाट सशस्त्र प्रहरी नायब निरीक्षक लोकेन्द्र सुब्बाको कमाण्डमा खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१६ स्थित भुटनदेवी मन्दिर नजिकबाट बा.प्र.०१-०२७ च ८५०३ नम्बरको सेतो रंगको टाटा योद्धा सिंगल क्याब पिकअप गाडीमा लोड गरिएको अबैध कपडालाई पछ्याउँदै जिल्ला बारा, जीतपुर–सिमरा उपमहानगरपालिका–२३, भलुवाही गाउँसम्म पुर्याएको थियो।

साघुरो गल्लीमा गाडी छाडेर चालक फरार भएपछि टोलीले गाडीसहितका २० बोरा कपडा बरामद गरेको हो। सर्टिङ्ग सुटिङ्ग, सारी तथा कुर्ता–सुरवालसहितका ती कपडाको अनुमानित मूल्य रु १०,०७,९००।– रहेको छ भने गाडीको भन्सार दाखिला मूल्य रु. २५,००,०००।– रहेको छ। यसरी नियन्त्रणमा लिइएको कुल रु. ३५,०७,९००।– बराबरको सामग्री आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी देवेन्द्र सिंहले जानकारी दिनुभयो।

सशस्त्र प्रहरीले सीमामा अवैध तस्करी नियन्त्रणका लागि निगरानी तथा गस्तीलाई सशक्त बनाउँदै आएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM