बेंगलुरु । दक्षिण भारतीय कन्नड फिल्म उद्योगकी चर्चित अभिनेत्री रान्या राव सुन तस्करी मामिलामा पक्राउ परेकी छन् । सुन तस्करीको आरोपमा उनलाई बेंगलुरु अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको छ ।
अभिनेत्री रावका सौतेनी बुवा के. रामचन्द्र राव कर्नाटकका आईपीएस अधिकारी हुन् । रिपोर्टअनुसार रान्या १५ दिनमा चारपटक दुबई पुगेपछि प्रहरीको अनुसन्धानमा परेकी थिइन् ।
रान्याको साथबाट प्रहरीले सोमबार राति बेंगलुरुको केम्पेगौडा अन्तर्राष्ट्रिय विमानस्थलमा १४.८ किलो सुन बरामद गरेको भारतीय संचारमाध्यमले जनाएका छन् ।
पीटीआईले अधिकारीलाई उद्धृत गर्दै बताएअनुसार राजस्व गुप्तचर निर्देशनालय (डीआरआई)ले पक्राउ गरेको हो । पक्राउपछि रान्यालाई आर्थिक अपराध अदालतमा पेश गरियो, जसले उनलाई १४ दिनको लागि न्यायिक हिरासतमा पठाएको छ ।
रान्या कन्नड सुपरस्टार सुदीपको अपोजिट फिल्म ‘माणिक्य’ (२०१४) मा उनको भूमिकाका लागि परिचित छिन् । उनले अन्य धेरै साउथ फिल्ममा पनि भूमिका निर्वाह गरेकी छिन् ।
सुन तस्करीको काममा उनी एक्लै थिइन् वा दुबई र भारतबीच चलिरहेको ठूलो तस्करी सञ्जालको हिस्सा हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।
३३ वर्षीया रान्या राव कर्नाटककी वरिष्ठ आईपीएस अधिकारी के. रामचन्द्र रावकी सौतेनी छोरी हुन् । रामचन्द्र कर्नाटक राज्य पुलिस आवास निगममा प्रहरी महानिदेशक (डीजीपी)को पदमा छन् ।
रान्या राव दुबईबाट एमिरेट्सको उडानमा बेंगलुरुको केम्पेगौडा अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेकी थिइन् । बारम्बारको अन्तरराष्ट्रिय भ्रमणका कारण उनको निगरानी भइरहेको थियो ।