२० फागुन, काठमाडौं । काठमाडौंस्थित थापाथलीमा मंगलबार बिहान मेलम्चीको खानेपानी वितरणको पाइप फुट्नुमा नेपाल विद्युत् प्राधिकरणकै गल्ती देखिएको छ ।
मेलम्ची सहितको खानेपानी वितरणको जिम्मा पाएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार प्राधिकरणबाट विद्युत् लाइन भूमिगत गर्न सडक खनेर पाइप बिच्छ्याउँदा सावधानी नअपनाएको कारणले भएको प्रारम्भिक अध्ययनबाट देखिएको हो ।
निर्देशनालयका उपनिर्देशक चन्द्रकुमार पाँ श्रेष्ठका अनुसार विद्युत् लाइन भूमिगत गर्नका लागि पाइप बिच्छ्याउँदा मेलम्चीको पाइपको तल, माथि, दायाँ र बायाँ कम्तीमा एक मिटरको दुरी राख्नुपर्ने विगतको समझदारी विपरीत प्राधिकरणले सडक खनेर मेलम्चीको पाइपमाथि नै विद्युतको पाइप राखेको पाइएको हो । सोही क्रममा मेलम्चीको पाइपमा चोट लागेको स्थलगत अध्ययनबाट देखिए उनले बताए ।
‘एक दिनअघि बानेश्वर क्षेत्रमा पाइपलाइन मर्मतका लागि माइतीघरस्थित भल्भ बन्द गरिएको र ललितपुरको ज्वागलमा रहेको एयर भल्भ पनि बन्द रहेकै अवस्थामा एकान्तकुनाबाट माइतीघरतर्फ पानी आउँदा चाप बढ्न गई चोट लागेको ठाउँमै मेलम्चीको पाइप फुटेको पाइएको छ,’ विज्ञप्तिमा छ ।
गत ३० माघमा पनि बबरमहलमा मेलम्ची खानेपानीको पाइपमा क्षति पुगेको थियो । नेपाल विद्युत् प्राधिकरणको लापरबाहीले पाइप लाइनमा क्षति पुग्दा बबरमहल सडक, सरकारी कार्यालय र निजी घरहरू जलमग्न भएका थिए । तीनकुने माइतीघर १० लेनको सडकमुनिको पाइप प्राधिकरणले फुटाइदिएको थियो । पाइप लाइन फुट्दा मेलम्ची खानेपानी आयोजनाको ३० लाख लिटर पानी खेर गएको थियो ।
प्राधिकरणले बिजुलीको तार भूमिगत गर्ने परियोजनाअन्तर्गत बबरमहलको चिल्लो सडक खनेको थियो । त्यही बेला ड्रिलरले पाइप फुटाउँदा बबरमहल क्षेत्र दिनभरी अस्तव्यस्त बनेको थियो । उक्त सडक खण्ड अहिल पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन ।