सुर्खेत । नेपालमा गुणस्तर प्रमाण चिन्ह प्रदान गरिएका उद्योगको सङ्ख्या ५ सय ७७ वटा रहेका छन् ।
नेपाल गुणस्तर तथा नापतौल विभाग काठमाडौँले आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको कर्णाली प्रदेशस्तरीय सचेतनामूलक कार्यक्रममा हालसम्म निर्धारण गरिएका गुणस्तरको सङ्ख्या भने १ हजार १ सय ४८ वटा रहेको जानकारी दिइएको हो ।
कार्यक्रममा नेपाल गुणस्तर तथा नापतौल विभागका उपमहानिर्देशक तारादत्त भट्टले इजाजत पत्र एवं प्रमाणपत्र प्रदान गरिएको उद्योगको सङ्ख्या भने ४ सय ६४ वटा रहेको बताउनुभयो । उहाँले नेपाल गुणस्तर प्रमाण चिन्ह प्रदान गरिएका वस्तुको सङ्ख्या ७० वटा भन्दा बढी रहेको जनाउनुभयो । उहाँका अनुसार प्रणाली प्रमाणीकरण गरिएका उद्योग÷संस्था १९ वटा रहेका छन् ।
कार्यक्रममा नापतौल, ढक र तराजु, गुणस्तरीय वस्तुमा उपभोक्ताको अधिकार र नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन खेल्न सकिने भूमिकाका विषयमा सचेतना गराइएको थियो । जनचेतनामूलक कार्यक्रममा नेपाल गुणस्तर चिन्ह, आईएसओ प्रमाणीकरणबारे र नेपाल गुणस्तर तथा नापतौल विभाग अन्तर्गतका कार्यालयले प्रवाह गर्ने सेवाका बारेमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

नेपाल गुणस्तर तथा नापतौल विभागका उपमहानिर्देशक तारादत्त भट्टले नेपाल गुणस्तर चिन्ह सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने आईएसओ प्रमाणीकरणबारे विभागका निर्देशक पारसमणि यादवले कार्यपत्र प्रस्तुत गर्नुभयो । गुणस्तर तथा नापतौल कार्यालय सुर्खेतका प्रमुख गणेश पौडेलले कार्यपत्र प्रस्तुत गर्दै गुणस्तर तथा नापतौल कार्यालयले प्रदान गर्ने सेवाका बारेमा जानकारी दिनुभयो ।
कार्यक्रममा कर्णाली प्रदेश सरकारका सचिव कृष्णप्रसाद पोखरेलले गुणस्तर तथा नापतौल सम्बन्धी प्रचारप्रसारसँगै सचेतनामूलक जानकारी आम उपभोक्तासम्म पुर्याउन आवश्यक रहेको औँल्याउनुभयो ।
सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले मूल्यवृद्धि र मिसावट जस्ता विषयमा आउने गुनासा तथा उजुरीलाई सम्बोधन गर्न बजार अनुगमन गर्ने गरेको जानकारी दिँदै गुणस्तर र उचित नापतौलका विषयमा कसैसँग सम्झौता नगर्नेमा जोड दिनुभयो ।
उद्योगी, व्यापारी, उपभोक्ता, सरोकारवालाहरूको सहभागिता रहेको कार्यक्रमका सहभागीले विभागले प्रदान गर्ने गुणस्तर चिन्ह, आईएसओ प्रमाणीकरण प्राप्त गर्ने प्रक्रियाका सम्बन्धमा जिज्ञासा राखेका थिए ।