विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले खेलाडीहरू राष्ट्रको गहना भएकाले उनीहरूको विकासमा राज्यले ध्यान दिनुपर्ने बताउनुभएको छ।
हिजो साँझ देखि विराटनगरमा शुरु भएको विराट गोल्डकपको उद्घाटन गर्नुहुँदै उहाँले खेलाडीहरूलाई प्रोत्साहन गर्न तिनै तहको सरकारको ध्यान जानु आवश्यक रहेको बताउनुभयो ।
उहाँले अहिलेको अवस्थामा राजनीतिक दलहरू अनुशासित हनु नसकी रहेको अवस्थामा खेलाडीहरूले आफूलाई अनुशासित बनाएर दलहरू अनुशासित बनाउनु पर्ने उहाँको भनाई थियो ।
नेता कोइरालाले विराटगोल्डकप आफैमा ऐतिहासिक र यस्को आफ्नै महत्व रहेकाले यसको संचालन प्रदेश तथा स्थानीय सरकारबाट हुनुपर्ने बताउनुभयो ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगरको गहनाको रुपमा रहेको विराट गोल्ड कप सञ्चालनका लागि महानगरपालिकाले निरन्तर सहयोग गर्दै आएको बताउनुभयो । उहाँले विराटनगर वासीलाई गोल्ड कपमा टिकट काटेर सहभागी हुन समेत आग्रह गर्नुभयो ।
विराटगोल्डकपका संयोजक नवीन रिजालले गोल्डकप सञ्चालनमा हरेक वर्ष आर्थिक समस्या हुने गरेकाले यसका लागि सरकारको ध्यान जानु आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा उद्योगी महेश जाजुले विराट गोल्डकप सञ्चालनका लागि निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताउनुभयो ।