Tuesday, March 4, 2025
घरसमाचारमस्तिष्कघात : जाडोमा दुई गुणा बढी(भिडियो)

मस्तिष्कघात : जाडोमा दुई गुणा बढी(भिडियो)

अन्य महिनाको तुलनामा जाडो महिनामा (मंसिर, पुस, माघ र फागुन) मा मस्तिष्कघात हुने संख्या दुई गुणाले बढी हुन्छ ।

१९ फागुन, काठमाडौं । रोगको प्रकृति र प्रवृत्तिबारे मापन गर्ने एउटा इकाई पनि हो, वीर अस्पताल । देशभरका बिरामीको यहाँ थेग्नै नसक्ने चाप हुन्छ । त्यसैले उनीहरूलाई कस्तो रोग लागेको छ ? कुन उमेर समूहलाई ? कुन भेगका ? कुन अवस्थाका ? कुन मौसममा ? भनी औसत आँकडा निकाल्न सकिन्छ ।

जस्तो हामीले नेपालमा मस्तिष्कघातको अवस्था के छ ? भनी सोधीखोजी गरेका थियौँ । किनभने, त्यहाँ उपलब्ध तथ्यांकले जाडो याममा बढी मस्तिष्कघातका घटनाहरू अभिलेख गरेको पाइयो । आखिर किन जाडो याममै मस्तिष्कघात बढी हुन्छ ? गर्मी याममा यसको जोखिम कम हुने हो ?

वीरमा न्युरो सर्जरीसम्बन्धी वर्षेनी सयौँ संख्यामा जटिल शल्यक्रिया हुन्छन् । यही तथ्यांकलाई आधार मानेर हामीले ४ वर्षयता मस्तिष्कघात भएका बिरामीको शल्यक्रियाको अनुपात हेर्‍यौँ ।

यसबाट के देखियो भने अन्य महिनाको तुलनामा जाडो महिनामा (मंसिर, पुस, माघ र फागुन) मा मस्तिष्कघात हुने संख्या दुई गुणाले बढी हुन्छ । हामीले आव २०७८ देखि २०८१ फागुन १६सम्मको तथ्यांक केलाएका थियौँ । मस्तिष्कघात भएर जटिल शल्यक्रिया गरिएका ४ वर्षको केशलाई जोडेर हेर्दा माघ महिनामा सबैभन्दा बढी मस्तिष्कघात हुने देखियो ।

तथ्यांकअनुसार ४ वर्षको माघ महिनामा ९५ जनाको मस्तिष्कघातपछि जटिल शल्यक्रिया गरिएको थियो । यस्तै फागुनमा ९४, पुसमा ९० र मंसिरमा ८५ जनाको शल्यक्रिया भएको छ।

तर अन्य महिनामा हेर्दा क्रमश : चैत्रमा ६४ (चालू आवको बाँकी) जेठमा ६२, असोजमा ६१, कात्तिकमा ६०, वैशाखमा ५६, भदौमा ५२, असारमा ४९, साउनमा ३९ जनाको जटिल मस्तिष्कघातको शल्यक्रिया भएको थियो ।

मस्तिष्कघात भएका सबैलाई शल्यक्रियाको आवश्यकता पर्दैन । मस्तिष्कघात भएकामध्ये १० प्रतिशतको मात्रै जटिल शल्यक्रिया हुने चिकित्सक बताउँछन् । ९० प्रतिशतलाई औषधि सेवनबाट रक्तसञ्चार खुलाई शरीरमा पुग्ने असर कम गर्न सकिन्छ । विज्ञका अनुसार मस्तिष्कघात भएका अधिंकाश बिरामी न्युरोलोजी वार्डमा भर्ना हुन्छन् । हरेक दिन वीरमा औसतमा चारदखि पाँच जना मस्तिष्कघातका नयाँ बिरामी आइपुग्ने न्युरोलोजी विभागको तथ्यांक छ।

जाडो महिनामा मस्तिष्कघात किन बढी ?

बाहिरी वातावरण चिसो हुँदा मानिसको शरीर पनि चिसिएको हुन्छ । यस्तो अवस्थामा शरीरमा भएका नसा खुम्चिएका हुन्छन् । मस्तिष्कमा पुग्ने नसा खुम्चिएर सानो हुँदा रगत प्रवाह चाडो हुन्छ । जसले उच्चरक्तचापको समस्या बढाउने गर्छ ।

मस्तिष्कघात हुनुको प्रमुख कारण पनि उच्चरक्तचाप हो ।

वीर अस्पतालका न्युरो सर्जरी विभागका प्रमुख डा. राजीव झा भन्छन्, ‘मस्तिष्कमा जाने नसा फुटेर वा साँघुरो भएर रगत प्रवाह बन्द हुने अवस्था नै मस्तिष्कघात हो । अन्य महिनाको तुलनामा जाडो महिनामा मस्तिष्कघात हुने सम्भावना तीन गुणासम्म बढी हुन्छ ।’

मस्तिष्कको कुनै भागमा रक्तसञ्चार रोकिँदा, मस्तिष्कमा रक्तनली फुट्दा मस्तिष्कघात हुन्छ ।

हरेक दिन वीरमा चारदखि पाँच जना मस्तिष्कघातका नयाँ बिरामी आइपुग्ने वीर अस्पतालका न्युरोलोजी विभाग प्रमुख डा. सुनिल कोइराला बताउँछन् ।

डा. कोइराला भन्छन्, ‘मुटुले सामान्य रुपमा काम नगर्दा जमेका स–सना ढिक्का रगत फाल्छ । ती रगतका ढिक्काले मस्तिष्कमा जाने नसालाई बन्द गराउँछन् । जसका कारण मस्तिष्कघात हुन्छ।’ मटुको समस्या भएका मानिसलाई मस्तिष्कघात हुने सम्भावना चार गुणाले बढी हुने विज्ञ बताउँछन् ।

डा. कोइरालाका अनुसार मस्तिष्कघात गराउने प्रमुख जोखिम तत्वमा उच्च रक्तचापसहित मधुमेह, मादक पदार्थ, लागूपदार्थ सेवन र अस्वस्थ्यकर खानपान हुन् ।

जाडो महिनामा शारीरिक व्यायाम कम हुन्छ । त्यसका साथसाथै कम पानी पिउने गर्छन् ।

पानी कम पिउने बित्तिकै शरीरमा भएको रगत बाक्लो हुन्छ । जाडो महिनामा धेरै खानेकुरा खाँदा र व्यायाम कम हुँदा मस्तिष्कघातको जोखिम उच्च हुने डा.झाको भनाइ छ ।

अधिंकाश मानिस बिहानको समयममा शौचालयमा मस्तिष्कघात हुने चिकित्सक बताउँछन् ।

डा. झाका अनुसार बल प्रयोग गरेर दिसा, पिसाब गर्दा मस्तिष्कलाई असर पर्ने हुन्छ। मस्तिष्कघात जुनसुकै उमेरका मानिसलाई हुने भएपनि ५० वर्षभन्दा माथिका मानिसका मस्तिष्कघात हुने जोखिम अत्याधिक हुन्छ।

‘यसै पनि जाडो महिनामा मस्तिष्कघात हुने जोखिम बढिरहेको हुन्छ’ डा. झा भन्छन्, ‘त्यसमाथि उच्चरक्तचापको बिरामी छन् भने जोखिम अझै बढेर जान्छ,’ डा. झा भन्छन् ।

मस्तिष्कघात दुई किसिमले हुन्छ :-

-मस्तिष्कभित्रको नसा फुटेर रक्तस्राव हुँदा

-दिमागमा जाने नसा सुक्दा

विज्ञका अनुसार ८५ प्रतिशतलाई दिमागमा जाने नसा सुकेर मस्तिष्कघात हुन्छ । मस्तिष्कभित्र नसा फुटेर रक्तस्राव १०–१२ प्रतिशतलाई मस्तिष्कघात हुन्छ । यस्तै २–३ प्रतिशतलाई बोलि नआउने, मुख बाङगो हुने हुन्छ । तर केही समयमै ठीक हुन्छ । जुन खरातको संकेत हो ।

डा. झा भन्छन्, ‘मस्तिष्कघात भएपछि ४ घन्टाभित्र अस्पताल पुर्‍याउँदा नतिजा राम्रो आउँछ । तर अस्पताल ढिला पुगेर नै ज्यान गइरहेको छ । मस्तिष्कघात भएका ९० प्रतिशत मानिसमा दीर्घकालीन समस्या रहन्छ।’

९५ प्रतिशत बिरामी समयमा अस्पताल पुग्दैनन्

मस्तिष्कघात भएका ९५ प्रतिशत बिरामी समयमै अस्पताल पुग्दैनन् । अधिकांश बिरामी बोली हराउने, हात-खुट्टा नचल्ने, आँखा नदेख्ने जस्ता समस्या लिएर आइपुग्ने चिकित्सक बताउँछन् ।

डा.सुनिल कोइराला ।

मृत्युको कारणमध्ये मस्तिष्कघात दोस्रो नम्बरमा पर्छ । अहिलेकै अनुपातमा मस्तिष्कघात समस्या बढ्ने हो भने आगामी ८–१० वर्षभित्रमा मृत्युको पहिलो कारण यो बन्ने निश्चित रहेको डा.झाको दावी छ।

मस्तिष्कघात भएको चार घण्टा उपचारका लागि ‘गोल्डेन’ समय रहेको उनी बताउँन् । ‘चार घन्टाभित्रमा उपचार सुरू गर्दा बिरामीलाई पहिलैकै अवस्थामा फर्काउन सकिन्छ,’ डा. झा भन्छन्, ‘तर हाम्रो देशको भौगोलिक अवस्था सहज छैन । आर्थिक र स्वास्थ्य संस्थाको पहुँच सहज नहुँदा अधिंकाशको बाटोमै मृत्यु भइसकेको हुन्छ ।’

मस्तिष्कघात भएको लामो समयसम्म हुँदा अवस्था जटिल हुने भएकाले अस्पताल आइसकेपछि पनि ४० प्रतिशतभन्दा माथि बिरामीलाई नसकिने डा.झाले जानकारी दिए।

उपचार नै नपाएर घरमै वा बाटोमा मृत्यु हुने संख्याको कुनै लेखाजोखा नै छैन । जनचेतनाको अभाव र स्वास्थ्यप्रति बेवास्ता गरेका कारण मस्तिष्कघात हुने गरेको झा.बताउँछन्।

‘हामी गाडी वा सवारी साधन ठिक छकि हैन भनेर बेला-बेलामा परीक्षण गर्छौँ’ डा.झा भन्छन्, ‘तर हाम्रो शरीरको यतिसम्म बेवास्ता गर्छौँ कि गाह्रो नभएसम्म स्वास्थ्य परीक्षण नै गर्दैनौँ।’

विज्ञका अनुसार मस्तिष्कघात जटिलता वा मृत्यु हुनुको प्रमुख कारण घरमै गर्ने ढिलाइ हो । त्यसपछि अस्पताल पुगेपछि पनि समस्या पहिचान गर्न ढिलाइ हुन्छ ।

‘आकस्मिक कक्षमा दक्षजनशक्ति हुँदैनन् । अधिंकाश अस्पतालमा आइसकेपछि परीक्षणमै ढिलाइ हुन्छ । जसको कारण रोगको पहिचान समयमै हुँदैन’ डा. झा भन्छन्।

मस्तिष्कघात केयर केन्द्रको आवश्यकता

अहिलेको स्वास्थ्य प्रणालीले मस्तिष्कघात भएको समयमै पत्ता लगाउन नसक्दा मृत्युदर बढेको डा.झाको भनाइ छ ।३०० बेड भन्दामाथिका अस्पतालमा मस्तिष्कघात केयर केन्द्र बनाउनुपर्ने उनको सुझाव छ ।

‘समयमै रोगको पहिचान नहुँदा अस्पतालमा पुगेर पनि कतिपय मानिसको मृत्यु भइरहेको छ’ झा भन्छन्, ‘मस्तिष्कघात केयर केन्द्र बनाउने हो भने तत्काल समस्या पहिचान गरी उपचार गर्न सम्भव हुन्छ ।’

उनका अनुसार केन्द्रमा २४ घन्टा नै न्युरो चिकित्सक र न्युरोसँग सम्बन्धित जनशक्तिको आवश्यकता पर्छ । केन्द्रमा भएका दक्ष जनशक्तिले मस्तिष्कघात भएको नभएको सहज रुपमा छुट्टाउन सक्छन् ।

डा. झाले स्पष्ट पार्दै भने, ‘कतिपय अवस्थामा मस्तिष्कघात भएको यकीन गर्न सकिँदैन । किनकी सिटीस्क्यानको रिर्पोटमा पनि सामान्य देखिन सक्छ । यस्तो बेलामा दक्ष जनशक्तिले लक्षणको आधारमा मस्तिष्कघात भएको पत्ता लगाउन सक्छन्।’

सरकारले सबै ३०० बेडको अस्पतालमा ४ देखि ६ वटा बेड छुटाएर केयर केन्द्र स्थापना गर्नुपर्ने डा. झाको भनाइ छ ।

डा.राजीव झा ।

चिकित्सकका अनुसार मस्तिष्कघातको तत्काल उपचार नभए मृत्युको जोखिम हुन्छ । यसले दीर्घकालीन रूपमा मस्तिष्कमा क्षति गर्नुका साथै दीर्घकालीन अपांगता निम्त्याउन समेत निम्तिन्छ ।

‘मस्तिष्कघात भएर उपचार गरेपछि पनि ९० प्रतिशतमा कुनै न कुनै दीर्घकालीन समस्या देखिने डा.झा बताउँछन् । ‘कतिपयको मुख बाङगो हुने, हात खुट्टा नचल्ने, बोली नै बन्द हुने पनि हुन्छ’ डा. झा भन्छन् ।

डा. कोइरालाका अनुसार खानपिन र जीवनशैलीमा आएको परिवर्तन नै मस्तिष्कघातको मुख्य कारण हो ।चुरोट, रक्सी सेवन गर्ने, मधुमेह, उच्च रक्तचापका बिरामीहरूले नियमित औषधि नखाने स्वस्थकर खाना नखाने, तनाव धेरै हुने व्यक्तिमा मस्तिष्कघात हुने सम्भावना बढी हुन्छ ।

‘पहिला ५० वर्ष उमेरभन्दा माथिका व्यक्ति जोखिम रहन्थे अहिले युवामा पनि धेरै देखिन्छ,’ डा. कोइराला भन्छन्, ‘खानपान, जीवनशैली, सुर्तीजन्य पदार्थको सेवन र मादक पदार्थ सेवनकै कारणले मस्तिष्कघातका बिरामी बढिरहेका छन् ।’

जाडो महिनामा मस्तिष्कघात हुन नदिनका लागि शरीरको तापक्रम सन्तुलन कायम गर्नुपर्ने चिकित्सक बताउँछन् । जाडोयाममा शरीरलाई न्यानो राख्न र चिसोबाट बच्न धेरै मानिसहरू मदिरा सेवन गर्छन् । तर, यस्तो अभ्यास अत्यन्त खतरनाक हुनसक्ने चिकित्सकहरू चेतावनी दिन्छन् ।

डा. झाका अनुसार, मदिराले शरीरलाई न्यानो बनाउने भन्दा पनि शरीरको तापक्रम झार्छ र हाइपोथर्मिआको जोखिम बढाउँछ ।

‘मदिराले हातखुट्टाका रक्तनलीलाई खुलाइदिन्छ।जति खुलाइदियो, जिउ त्यति हाइपोथर्मिआमा जाने सम्भावना हुन्छ । त्यो झन् घातक हुन्छ’ डा. झा भन्छन् ।

जाडोयाममा मदिरा सेवनको सट्टा तातो झोल पदार्थ खान, योग, व्यायाम गर्न र न्यायो कपडा लगाउन विज्ञ सल्लाह दिन्छन् ।

अचानक सन्तुलन गुमाउनु, बोल्नमा समस्या, स्पष्ट बोल्न नसक्नु, अरूले बोलेको नबुझ्नु, एकातर्फ मुख बाङ्गिनु मस्तिष्कघातका लक्षण हुन् ।

वीर अस्पतालमा उपचारका लागि आएका बिरामी ।

मस्तिष्कघात भएमा बिरामीको शरीरको कुनै एक भाग नचल्ने, हात वा खुट्टा नचल्ने, बोल्न समस्या हुनुका साथै आँखा धमिलो हुनेसमेत समस्या हुन्छ । जुन सामान्य लक्षणमा पर्छन् ।

मस्तिष्कघातका लक्षण सबै एकैपटक देखा नपर्ने डा. झा बताउँछन् । ‘मस्तिष्कको कुन भागमा क्षति भएको छ, त्यस अनुसारको जटिलता देखिन्छ’ डा. झा भन्छन्, ‘नियमित व्यायाम, पर्याप्त आराम र स्वस्थ खानेकुराको सेवनले मस्तिष्कघात हुने सम्भावनालाई कम गर्न सकिन्छ ।’

मधुमेह, उच्च रक्तचाप, कोलेस्टेरोल जस्ता समस्याला नियन्त्रणमा राख्दा मस्तिष्कघातको जोखिम कम हुने डा.झाको भनाइ छ ।

फोटो/ भिडियो : शाहील कट्टेल

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -