Tuesday, March 4, 2025
घरसमाचारस्व. वीरेन्द्र स्मृति क्रिकेट : एनसिए र युभिसिसि फाइनलमा प्रवेश

स्व. वीरेन्द्र स्मृति क्रिकेट : एनसिए र युभिसिसि फाइनलमा प्रवेश




बाँके । युनाईटेड भिजन क्रिकेट क्लब कोहलपुरको आयोजनामा जारी तेस्रो संस्करणको स्व. वीरेन्द्र स्मृति क्रिकेट प्रतियोगिता अन्तर्गत सेमिफाइनल खेल सकिएका छन्। 

आज सम्पन्न दुई सेमिफाइनल खेलमा नेशनल क्रिकेट एकेडेमी लम्की कैलाली र आयोजक युनाईटेड भिजन क्रिकेट क्लब कोहलपुरले शानदार जित हात पार्दै उपाधि भिडन्तमा स्थान बनाएका छन् । 

पहिलो सेमिफाइनल खेलमा नेशनल क्रिकेट एकेडेमी लम्कीले सि. युवा क्लब नेपालगन्जलाई ६ विकेटले पराजित गर्‍यो। नेपालगन्जले टस हारेर ब्याटिङ गर्दै २० ओभरमा ९ विकेटको क्षतिमा १११ रन बनायो। सौगात खत्रीले ३१ र सन्दीप नेपालीले १८ रन बनाए। बलिङतर्फ लम्किका हेमन्त क्षेत्री र रबिन भण्डारीले समान २–२ विकेट लिए।

११२ रनको लक्ष्य पछ्याएको लम्कीले १३.५ ओभरमै ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। आशिष लोहारले ४५ नट आउट तथा गोविन्द बिष्टले ३३ नट आउट रन बनाए। बलिङतर्फ नेपालगन्जका अमन श्रेष्ठले २ विकेट लिए। उत्कृष्ट प्रदर्शन गरेका गोविन्द बिष्ट प्लेयर अफ द म्याच घोषित भए।

दोस्रो सेमिफाइनलमा आयोजक युनाईटेड भिजन क्रिकेट क्लब कोहलपुरले हिमालयन क्रिकेट एकेडेमी काठमाडौँलाई ४० रनले पराजित गर्दै फाइनल यात्रा तय गर्‍यो। टस जितेर ब्याटिङ गरेको कोहलपुरले २० ओभरमा ६ विकेटको क्षतिमा १२६ रन बनायो। सिद्धान्त राज शाहीले ३१, निर्मल गुरुङले २५ तथा क्षितिज थापा मगरले २० रनको योगदान गरे। बलिङतर्फ हिमालयन क्रिकेट एकेडेमीका आदित्य थापा र दिनेश बिष्टले समान २–२ विकेट लिए।

१२७ रनको लक्ष्य पछ्याएको हिमालयन क्रिकेट एकेडेमी १८.३ ओभरमै ८६ रनमा समेटियो। दीपक बोहराले २५ तथा मुकेश धामीले १७ रन बनाए। कोहलपुरका निर्मल गुरुङले ३ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे। उनलाई प्लेयर अफ द म्याच घोषित गरियो।

अब उपाधिका लागि नेशनल क्रिकेट एकेडेमी लम्की र युनाईटेड भिजन क्रिकेट क्लब कोहलपुर भिड्नेछन्। फाइनल खेल भोलि बिहान ९ बजे प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदान कोहलपुरमा हुनेछ। प्रतियोगिताका विजेताले नगद १ लाख ५० हजार रुपैयाँ र ट्रफी हात पार्नेछन्।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -