१८ फागुन, वीरगञ्ज। वीरगञ्जस्थित वीरगञ्ज नर्सिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनमा अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (क्रान्तिकारी)बाट कविता आचार्यले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।
विद्यार्थीहरूको हक, अधिकार, शैक्षिक गुणस्तर सुधार र क्याम्पसमा आधारभूत सुविधाहरूको सुनिश्चितताका लागि आफूले उम्मेदवारी दिएको आचार्यले बताएकी हुन् ।
आचार्यले आफ्नो उम्मेदवारी घोषणासँगै भनेकी छन्, ‘म कविता आचार्य, वीरगञ्ज नर्सिङ क्याम्पसको स्ववियू अध्यक्ष पदमा अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (क्रान्तिकारी) बाट उम्मेदवारी दिने घोषणा गर्दछु । विद्यार्थीहरूको हक, अधिकार, शैक्षिक गुणस्तर सुधार, तथा सुविधाहरूको सुनिश्चितता मेरा प्रमुख एजेन्डाहरू हुन्। हामीले सामना गरिरहेका विभिन्न समस्याहरूको समाधानका लागि दृढ सङ्कल्पका साथ अगाडि बढ्ने प्रतिबद्धता लिएको छु । अबको नेतृत्व विद्यार्थीहरूकै हुनेछ र अबको सङ्घर्ष विद्यार्थीहरूकै अधिकारका लागि हुनेछ।’
उनले विगतमा वीरगञ्ज नर्सिङ क्याम्पसमा स्ववियू निर्वाचन जितेका नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जस्ता सङ्गठनहरूले विद्यार्थीहरूको हकहितका लागि कुनै ठोस काम गर्न नसकेको आरोप पनि लगाएकी छन् ।
“यसअघिका नेतृत्वले विद्यार्थीहरूको हितमा काम गर्न सकेनन् । क्याम्पसमा आधारभूत सुविधाहरूको अभाव छ, शैक्षिक गुणस्तर खस्किँदो छ, र विद्यार्थीहरूका गुनासाहरू सुनुवाइ भएका छैनन् । यही कारण मैले यो जिम्मेवारी लिने निर्णय गरेकी हुँ,’ आचार्यले भनिन् ।
आचार्यले स्ववियू निर्वाचन जितेपछि आफ्ना मुख्य एजेन्डाहरूलाई प्राथमिकतामा राखेर काम गर्ने योजना बनाएकी छन् । उनले क्याम्पसमा पुस्तकालय सुधार, छात्रावास सुधार, नियमित स्वास्थ्य जाँच सुविधा, छात्रवृत्तिको व्यवस्था, र कक्षा कोठाहरूको मर्मत सम्भार र पठनपाठनको गुणस्तर सुधारलाई पहिलो प्राथमिकतामा राखेकी छन् ।
“विद्यार्थीहरूले गुणस्तरीय शिक्षा पाउनुपर्छ, र त्यसका लागि आवश्यक वातावरण बनाउनु मेरो पहिलो काम हुनेछ । साथै, क्याम्पस प्रशासनसँग समन्वय गरेर यहाँका समस्याहरूको दीर्घकालीन समाधान खोजिनेछ,’ उनले भनिन् ।