वीरगंज, वडा नम्बर-६ स्थित महावीर गल्लीमा बस्ने केयाल परिवार वीरगंजको पुरानो रैथाने बासिन्दा हुन ।
त्यहिं बस्ने बाबूलाल केयाल परिवार तीन पुस्ते बंशज नागरिक भए तापनि उनको छोरो संजय कुमार केयालले दोहोरो नागरिकता लिएको पोल खुलेको छ ।
उनी वंशज नेपाली नागरिक भए पनि भारत बिहारको पूर्वी चम्पारण को मतदाता नामावलिमा उनको नाम अद्यावधिक रहेको देखिएको छ ।
नेपालमा गैरकानूनी माध्यमले अर्जित गरेको सम्पत्ति भारतमा थुपार्न को लागि उनले भारतीय मतदाता नामावलीमा आफ्नो नाम लेखाएका हुन् ।
नेपालको कानून बमोजिम दोहोरो नागरिकता लिनु दण्डनीय अपराध भए तापनि वीरगंजका प्रायः काला व्यापारीहरुको नाम दुबै देशको मतदाता सुचिमा समावेश रहेको पाइएको छ ।
यस सन्दर्भमा बुझ्न खोज्दा संजय केयालले मेरो नाम अरु कसैले लेखाइ दिएको र यसबारे आफूलाई कुनै जानकारी नभएको ओठे जवाफ दिएर पन्छिए ।
सम्बन्धित पक्ष सप्रमाण जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दिने तयारी गरेको भए पनि विगतमा प्रशासनको रवैया देखेर दोधारमा देखिएका छन् ।
यसै विषयमा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले दोहोरो नागरिकता सम्बन्धमा परेको उजुरीमा पहिलाका प्रमुख जिल्ला अधिकारीले के गरे त्यो थाहा भएन, अब त्यस्तो कुनै उजुरी आएमा कड़ाईका साथ आवश्यक प्रक्रिया अगाड़ी बढाइने बताउनु भयो ।