३० माघ, काठमाडौं । बंगलादेशकी महिला क्रिकेटर शोहेली अख्तरलाई आईसीसीले पाँच वर्षको प्रतिबन्ध लगाएको छ । उनलाई म्याच फिक्सिङ गराउन पैसा अफर गरेको आरोपमा दोषी ठहर हुँदै प्रतिबन्ध लगाइएको हो ।
३६ वर्षीय अफस्पीनर सोहेलीले अब पाँच वर्षसम्म कुनैपनि क्रिकेट खेलहरू खेल्न पाउने छैनन् । यस्तो आरोपमा प्रतिबन्ध व्यहोर्ने उनी पहिलो महिला क्रिकेटर हुन् ।
उनी म्याच फिक्सिङ गराउन खोजेको, पैसा अफर गरेको र आईसीसीको भ्रष्टाचार विरोधी संहिता (एसीयू) को दृष्टिकोणको पूर्ण विवरण खुलासा गर्न असफल भएको तथा अनुसन्धानमा बाधा पुर्याएकाले दोषी ठहर भएकी हुन् ।
सन् २०२३ मा दक्षिण अफ्रिकामा भएको महिला टी २० विश्वकपको समयमा उनले बंगलादेशकै खेलाडीलाई हिट विकेट आउट हुन २० लाख बंगलादेशी टाका अफर गरेकी थिइन् । उनको त्यसबेलाको फेसबुक च्याटहरू पनि आईसीसीले अनुसन्धानको दायरामा प्रयोग गरेको थियो ।
एसीयूलाई स्पष्टीकरण दिने क्रममा उनले आफूले त्यस्ता म्यासेजहरू पठाएको स्वीकार्दै खेलाडीको नियत चेक गर्नलाई त्यसो गरेको बताएकी थिइन् ।
सोहेलीले बंगलादेशका लागि २ ओडिआई तथा १० टी-२०आई खेलेकी छन् ।