Wednesday, February 12, 2025
घरसमाचारबाँकेमा एचपीभी खोप अभियान: ६ दिनमा ७३ प्रतिशत किशोरीलाई खोप प्रदान

बाँकेमा एचपीभी खोप अभियान: ६ दिनमा ७३ प्रतिशत किशोरीलाई खोप प्रदान

बाँके । बाँके जिल्लामा मानव पेपिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप अभियान अन्तर्गत ६ दिनमा लक्ष्यको ७३ प्रतिशत किशोरीलाई खोप लगाइएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार माघ २२ गते देखि सञ्चालन भएको अभियानमा हालसम्म १७ हजार ९ सय ९१ जना किशोरीले खोप प्राप्त गरेका छन् । 

बाँकेका चार स्थानीय तहमा सञ्चालन भइरहेको खोप अभियान अन्तर्गत माघ २७ गते मात्र २ हजार १ सय ८ किशोरीलाई खोप दिइएको छ । सोही दिन नेपालगन्ज उपमहानगरपालिकामा ९ सय २१, कोहलपुर नगरपालिकामा ४ सय ८९, खजुरा गाउँपालिकामा ३ सय ४२ र जानकी गाउँपालिकामा ३ सय ५६ किशोरीलाई खोप लगाइएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका एचपीभी खोप फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बाँकेको चार वटा पालिकामा सुरु गरिएको पहिलो चरणको खोप अभियानमा २४ हजार ५ सय ८९ किशोरीलाई खोप दिने लक्ष्य राखिएकोमा ६ दिनसम्ममा १७ हजार ९ सय ९१ किशोरीलाई खोप लगाइएको छ ।

जसअन्तर्गत नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा ७५ प्रतिशत, खजुरा गाउँपालिकामा ५८ प्रतिशत र जानकी गाउँपालिकामा १०३ प्रतिशत किशोरीले खोप प्राप्त गरेका छन् । जानकी गाउँपालिकामा निर्धारित लक्ष्यभन्दा बढी किशोरीलाई खोप लगाइएको छ, जसले स्थानीयस्तरमा खोप अभियान प्रभावकारी भएको सङ्केत गरिएको छ ।

स्वास्थ्यकर्मी, विद्यालय, अभिभावक र स्थानीय निकायको सहकार्यमा खोप अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गरिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । स्वास्थ्यकर्मीहरू विद्यालयमै गएर खोप लगाइरहेका छन् भने अभिभावकहरूलाई सचेतनामूलक कार्यक्रममार्फत जानकारी प्रदान गरिएको छ । 

मानव पेपिलोमा भाइरस पाठेघरको मुखको क्यान्सरको प्रमुख कारणमध्ये एक भएकाले यसबाट जोगिन एचपीभी खोप प्रभावकारी उपाय मानिन्छ । विश्व स्वास्थ्य सङ्गठनले पनि किशोरीहरूलाई यो खोप लगाउन सिफारिस गरेको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लामा बाँकी रहेका २७ प्रतिशत किशोरीलाई खोप लगाउन अभियानलाई थप प्रभावकारी बनाइनेछ । अभिभावक तथा किशोरीलाई खोपको महत्त्व बुझाउन विभिन्न माध्यमबाट जानकारी प्रवाह गरिने जनाएको छ ।

बाँके जिल्लामा एचपीभी खोप अभियानको दोस्रो चरण माघ ३० गतेदेखि फागुन ६ गते सम्म सञ्चालन हुने भएको छ । यस चरणमा राप्ती सोनारी गाउँपालिका, बैजनाथ गाउँपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिकाका किशोरीहरूलाई खोप प्रदान गरिनेछ। स्वास्थ्य कार्यालय बाँकेले पहिलो चरणको अनुभवका आधारमा दोस्रो चरणलाई थप प्रभावकारी बनाउन आवश्यक तयारी भइरहेको जनाएको छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -