२८ माघ, काठमाडौं । ठमेलमा ड्युटी खटिएको प्रहरीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका दुईजना युवकविरुद्ध पाँच दिनको म्याद थप भएको छ ।
पक्राउ परेका दुई युवाविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यहारको कसुरमा पाँच दिनको म्याद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।
आइतबार मात्रै ताप्लेजुङको फुङलिङ नगरपालिका-१ घर भएका २६ वर्षीय दिनेश सिग्देल र डडेलधुराको गन्यापधुरा गाउँपालिका-५ का २२ वर्षीय रमेश फुलारा पक्राउ परेका थिए । उनीहरु दुवैजना अमृत साइन्स क्याम्पस (अस्कल)मा अध्ययनरत तथा नेकपा एमालेको विद्यार्थी संगठनमा आबद्ध छन् ।
उनीहरूको समूहले दरबारमार्गस्थित केशरमहल बिटबाट ड्युटीमा खटिएको क्विक रेस्पोन्स टीम (क्यूआरटी) को टोलीमाथि आक्रमण गरेको थियो ।
आक्रमणबाट दुई प्रहरी घाइते भएका थिए । उनीहरूले प्रहरीको मोटरसाइकल लडाउँदै कुटपिट गरेका थिए भने प्रहरीको लौरो समेत फालिदिएका थिए ।