Tuesday, February 11, 2025
घरक्राइम चेकसेवा अवधि नसकिँदै एआईजी रवीन्द्र केसीको राजीनामा, कारण के ?

सेवा अवधि नसकिँदै एआईजी रवीन्द्र केसीको राजीनामा, कारण के ?

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र केसीले सेवा अवधि नसकिँदै राजीनामा दिएका छन्। आगामी ५ चैतसम्म उनको सेवा अवधि रहे पनि उनले करिब ४० दिनअघि नै राजीनामापत्र बुझाएका छन्।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार केसीको राजीनामा पत्र मन्त्रिपरिषद् बैठकमा पेस गरिनेछ, जसले स्वीकृत गरेपछि उनी औपचारिक रूपमा अवकाशमा जानेछन्।

राजीनामाको कारण के ?

केसी हाल प्रहरी प्रधान कार्यालयअन्तर्गत प्रदेश समन्वय विभागमा कार्यरत थिए। गत २६ पुसमा मन्त्रिपरिषद् बैठकले उनलाई एआईजीमा बढुवा गरेको थियो। तर, बढुवा भएको एक महिनामै उनले राजीनामा दिएका छन्, जसले विभिन्न अड्कल-कुडकली जन्माएको छ।

प्रहरी उच्च स्रोतका अनुसार केसीको राजीनामा व्यक्तिगत निर्णय नभएर संस्थागत सहमतिको परिणाम हो।

“एआईजी बढुवाका क्रममा नै उनलाई राजीनामा दिने सर्तमा बढुवा गरिएको थियो,” स्रोत भन्छ।

अर्का डीआईजीलाई एआईजी बनाउन मार्ग प्रशस्त गर्न राजीनामा ?

अनलाइन खबर स्रोतका अनुसार डीआईजी जनक भट्टराईलाई एआईजी बनाउनकै लागि केसीलाई राजीनामा दिन लगाइएको हो। यदि केसीले पूरा अवधि एआईजीमा बिताएमा भट्टराईलाई बढुवा गर्ने सम्भावना न्यून हुन्थ्यो। ५ चैतमा ३० वर्षे सेवा अवधिका कारण भट्टराई पनि अवकाशमा जाँदैछन्, त्यसैले दुवैजनालाई एआईजी बनाउने रणनीतिअनुसार केसीले राजीनामा दिएका हुन्।

नेपाल प्रहरीमा सेवा अवधि नसकिँदै राजीनामा दिने चलन थिएन। तर, निजामती सेवामा भने यस्तो प्रथा पहिलेदेखि चल्दै आएको छ, जहाँ सेवा अवधि बाँकी छँदै राजीनामा दिएर अरूलाई बढुवाको अवसर दिने चलन छ। अब, यो प्रवृत्ति नेपाल प्रहरीमा पनि प्रवेश गरेको देखिन्छ।

राजीनामाको विस्तृत कारणबारे प्रतिक्रिया लिन खोज्दा केसीसँग सम्पर्क हुन सकेन।

 

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -