काठमाडौं, माघ २४ – प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले मुलुकको विकासका एजेन्डामा सबै राजनीतिक दल तथा सरोकारवालाहरू एकजुट हुनुपर्ने बताएका छन्। बिहीबार संसद्मा बोल्दै उनले नेपाल सरकारले जारी गरेका अध्यादेशहरू मुलुकको समग्र विकासलाई लक्षित गरेर ल्याइएकाले यसलाई पारित गर्न सबै सांसदहरू सकारात्मक हुनुपर्नेमा जोड दिए।
सांसद ढकालले भने, “नेपाल सरकारले २९ वटा ऐन संशोधन गर्नका लागि ६ वटा अध्यादेश संसद्मा पेश गरेको छ। यी अध्यादेशहरूले सार्वजनिक सेवाको क्षेत्रमा सुधार ल्याउने, व्यवसायिक क्षेत्रको मनोबल उच्च बनाउने र जनताले भोग्दै आएका झन्झटहरू हटाउने उद्देश्य राखेका छन्।”
उनले सेवा प्रवाहलाई प्रभावकारी बनाउने नीति स्वागतयोग्य भएको भन्दै, “सेवाग्राहीका काम सात दिनभित्र सक्ने व्यवस्था, १५ दिनभित्र उद्योग दर्ता गर्ने जस्ता प्रावधानहरू जनपक्षीय छन् र यसबाट लाखौं नागरिक लाभान्वित हुनेछन्,” भने।
राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठनदेखि सूचना प्रविधि कम्पनीहरूलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यले ल्याइएका यी अध्यादेशहरूले सुशासन र व्यावसायिक वातावरण निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने उनले उल्लेख गरे।
सांसद ढकालले संसद्मा सम्बोधन गर्दै भने, “प्रधानमन्त्रीले देखाउनुभएको सुधारको हुटहुटीलाई साकार पार्न हामी सबैले साथ दिनुपर्छ। देश विकासका एजेन्डामा सबै एक ठाउँमा उभिन जरुरी छ।”
उनले सरकारलाई प्रभावकारी नीति कार्यान्वयनमा सहयोग गर्न आग्रह गर्दै, राजनीतिक स्वार्थभन्दा माथि उठेर मुलुकको समृद्धि र विकासका पक्षमा एकजुट हुन सबै सांसदहरूलाई अनुरोध गरे।