१३ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षधर विद्यार्थी नेताहरुले मधेसमा पुनः निर्वाचन हुनुपर्ने माग गरेका छन् ।
अखिल क्रान्तिकारीको शनिबार भएको निर्वाचनको मतगणनाको क्रममा मधेशको मतपत्रमा विवाद देखिएपछि पुनः मतदानको माग गरिएको हो । मधेशमा १५९ मत खस्दा १५४ मत देखिएपछि विवाद भएको थियो । मतगणना प्रतिनिधिहरुमा विवाद भएपछि हाल गणना स्थगित भएको छ ।
प्रचण्ड पक्षबाट उपमहासचिवमा उम्मेदवारी दिएका कुन्दन महतोले पुनः निर्वाचन नभए मतपरिणाम अस्वीकार गर्न बताए । महतोले भने, ‘लोकतन्त्रमा पाँच मतको ठूलो महत्व छ । हामीले फेरि मतदानको माग गरेका छौं ।’
मधेशमा पुन: मतदान नगरी मतपरिणाम गरिए बहिष्कार गर्ने महतोले बताए । अर्को पक्षले भने पुनः मतदान सम्भव नहुने अडान लिएको छ । उपमहासचिव जनार्दन शर्मा निकट विद्यार्थी नेता क्षितिज सापकोटाले फेरि मतदान गर्न सम्भव नभएको बताए । संस्थापन पक्षलाई मधेशको मतगणनाको क्रममा मतपत्रमा पानी खन्याएको अर्को पक्षले आरोप लगाएको छ ।
मधेशमा अध्यक्षका उम्मेदवार उपेदश यादवको पक्षमा अन्यको भन्दा बढी मत खसेको थियो । यादवले ७० पाउँदा अध्यक्षका अन्य उम्मेदवारहरु विजयप्रकाश शर्मा सापकोटाले ४१, हेमन्त राईले ४० र सुदिन पौडेलले एक मत पाएका छन् ।
सापकोटा पार्टी अध्यक्ष प्रचण्ड पक्षधरका हुन् । राई उपमहासचिव जनार्दन शर्मा निकट छन् । यादव उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पक्षधर हुन् । अखिल क्रान्तिकारीको निर्वाचनमा तीन प्यानल प्रतिस्पर्धामा थिए भने अध्यक्षका उम्मेदवार पौडेलको प्यानल बन्न सकेको थिएन । पौडेल उपमहासचिव वर्षमान पुन निकट छन् ।
निर्वाचन आयोगका प्रमुख मुक्ति प्रधानले भने विवादका विषयमा सल्लाह भइरहेको बताए ।