जनकपुरधाम । विवाहका उमेर हाल कायम रहेको २० वाट घटाएर १८ मा झार्ने विषयमा विभिन्न संघ संस्थाहरूको ध्यानाकर्षण भएको भन्दै मधेश प्रदेश सरकारलाई आज ज्ञापनपत्र बुझाएको छ ।
मधेश प्रदेश खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवाललाई मन्त्रालयमा पुगेर ज्ञापनपत्र बुझाएको हो । प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिले विवाहको लागि हालका लागि कायम रहेको २० वर्षको उमेरबाट २ वर्ष कम गरेर १८ वर्ष कायम गर्नु पर्ने सुझाव गत माघ २ गतेको बैठकले सुझाव दिएको भन्दै सो विषयमा आफूहरूको गम्भीर ध्यानाकर्षण भएको ज्ञापनपत्रमा उल्लेख रहेको छ ।
महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने लाईफ नेपाल तथा गल्स च्याम्पियनका पदाधिकारीहरूले मुलुकी देवानी संहिता २०७४ को दफा ७० को उपदफा १ “घ” विवाहको उमेर २० वर्ष तोकेको र उक्त उमेर पूर्ण रुपमा वैज्ञानिक तथा बालबालिकाको हितमा रहेकाले यसैलाई निरन्तरता दिनु पर्ने माग पनि गरेका छन् ।
ज्ञापनपत्रमा २० वर्ष विवाहको उमेर तोकिदा अध्ययन, अनुसन्धान, वैज्ञानिक तथ्यको आधारमा तोकिएकाले सो उमेरलाई परिवर्तन गरेर १८ वर्ष गर्दा बालबालिकाको शिक्षा, प्रजनन् स्वास्थ्य, मानसिक तथा शारीरिक अवस्थामा नकारात्मक असर पर्ने उल्लेख रहेको छ । उहाँहरूले कानून निर्माण गर्ने समिति तथा जिम्मेवार पदाधिकारीहरूबाट भएको पहल प्रति आफूहरू निक्कै गम्भीर भएको अधिकारकर्मीहरूले जनाउनु भएको छ ।
विवाहका उमेर १८ वर्ष कायम गरेको खण्डमा बालबालिका माथि विभिन्न प्रकारको हिंसा हुने भएकाले हाल कायम रहेको २० वर्ष नै वैज्ञानिक भएकाले यो नघटाई दिनका लागि माग गरेपछि मधेश प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले यस विषयमा आफूहरूको गम्भीर ध्यानाकर्षण भएको भन्दै मागको विषयमा संघ सरकारको ध्यानाकर्षण गर्ने जानकारी दिनुभयो ।
उहाँले विषय गम्भीर भएकाले यस विषयमा आफूहरू पनि गभिर भएको पनि उनले बताउनु भयो । ज्ञापनपत्र बुझाउने बालबालिकाका क्षेत्रमा काम गर्ने संस्था लाईफ नेपालका अध्यक्ष सुरैत ठाकुर, कार्यक्रम प्रबन्धक जीवन पुडासैनी, कार्यक्रम संयोजक डली शर्मा, गल्स च्याम्पियनका अध्यक्ष अजमेरी खातुन, उपाध्यक्ष रञ्जिता राउत, कोषाध्यक्ष निपा आले सहितका अधिकारकर्मीहरू रहेका थिए ।
















