२०८२ आश्विन २६ गते, आईतवार ०१:५३

पृथ्वीनारायण शाहको बाटोमा भन्दा विचारमा हिडौँ

– विजया पन्त
कतिपय इतिहास यस्ता हुन्छन् जुन फेरी नहोस् भन्नु पर्ने र कतिपय यस्ता हुन्छन् जुन फेरी टर्च बालेर खोज्नु पर्ने । नेपाल एकीकरणका योद्धा र एकताका प्रतीक मानिने पृथ्वीनाराण शाहले नेपाल एकीकरणको समयमा गोरखाबाट काठमाडौँ आउँदाको बाटो आज नेपाली सेनाले खोजिरहेका छन् ।

आजका युवाले नेपालको इतिहास नपढेको र बिर्सेको समयमा सेनाले फेरी एकपटक इतिहास देखाउने प्रयत्न गरेको छ । यो कार्य आफैमा सराहनीय छ तर आज उनी हिडेको बाटोभन्दा उनको विचार खोज्नु पर्ने बेला आएको छ । उनका विचारहरू र कार्यन्वय वर्तमान समयमा आवश्यक बनेको छ ।

वर्तमान समयमा नेपालका दुई धार एउटा कम्युनिजम वादीहरू जहाँ माक्र्सवाद, लेलीनववाद र माओ विचार बोकेका छन् र अर्को प्रजातान्त्रिक धार हौँ भन्ने छन् । जुन वाद, सिद्धान्त र विचार बोकेर हिडेकाले देशलाई हिडाउन खोजे पनि व्यवहारमा ती सिद्धान्त र विचार उतारिएको देखिएको छैन । बरु देश भ्रष्टाचारको चङ्गुलमा फसेको छ ।

देश स्वतन्त्र राष्ट्र भइकन पनि परनिर्भर रहेको कुरा धेरै टाढा र ठूला कुरालाई लिनु पर्दैन । भर्खरै बजारमा देखिएको प्याज र प्याजको भाउलाई हेरे पुग्छ । यस अवस्थामा पृथ्वीनाराण शाहको उक्ति …….
घर बुना लगाउँ, घरफला खाउँ
विश्वव्यापीकरणको समयमा उक्ति त्यति उपयुक्त नहोला तर दैनिक उपभोग्य सामानदेखि लिएर अत्याधुनिक विलासी सामान समेतलाई छिमेकी देशमा भर पर्नु पर्ने यस अवस्थाले के राष्ट्रियता, स्वाभिमान रहला ?
यस अवस्थामा पृथ्वीनारायाण शाहका केही युक्ति उल्लेख गर्न मन लाग्यो
क) पानी भएका ठाउँमा गाउँ भयापनि गाउँ अरु जग्गामा सारिकन पनि पानी
चलाउनु
गह्रो बन्या जग्गामा घर भया पनि अरु जग्गामा सारी कुलो काटी षेत बनाई आवाद गर्नु
ख) जाइ कटक नगर्नु झिकिकटक गर्नु
ग) प्रजा मोटा भया दरबार बलिया रहन्छन्, राजा (शासक) का भण्डार भन्याका रैतानहरू हुन् ।
घ) अन्याय मुलुकमा हुन नदिनु
ङ) नियानिसाफ बिगान्र्ये भन्याको घुस दिने र घुस षान्या हुन् ईन दुईको त धन जिव गरि लिया पनि पाप छैन ई राजाका महा सतुर हुन् ।
माथिका उक्तिले देशलाई स्वाधिन र आत्मनिर्भर बन्न सहयोग गर्छ गर्दैन ? यो सबैको सोचनीय विषय हो । देश भ्रष्टाचारको चङ्गुलमा फसेको बेला राष्ट्रिय एकता प्रतिमूर्ति, विशाल नेपालका निर्माता, निडर र शाहसी, चतुर, दूरदर्शी पृथ्वी नरायणशाहको “अन्याय मुलुकमा हुन नदिनु नियानिसाफ बिगान्र्ये भन्याको घुस दिने र घुस षान्या हुन् ईन दुईको त धन जिव गरि लिया पनि पाप छैन ई राजाका महा सतुर हुन् ।” भन्ने उक्ति आज अतिनै सान्दर्भिक छ । वर्तमान समयमा देशमा दिनप्रतिदिन भ्रष्टाचार भइरहेको छ ।

अहिलेको समयलाई विश्लेषण गर्दा MCC र भ्रष्टाचारले हल्लाएको अनुभूति भइरहेको छ । यस्तै अवस्थामा अगाडि गएमा देश कता जाने हो ? त्यसैले
दुईचार नेताको अंगुलमा देश नफसोस्
भ्रष्टाचारको चङ्गुलमा देश नफसोस्
यसो भनिरहँदा MCC को बारेमा लेख्ने हैसियत पनि छैन र लेख्ने मन पनि हैन तर कुरो हो भ्रष्टाचारको । ठूलो जनधनको क्षति गराएर देशमा गणतन्त्र ल्याइएको हो । सामान्य जनमानसले बुझेको लोकतान्त्रिक गणतन्त्रमा सबैले न्याय पाउनेछन् । दु:खी र गरिबको हितमा जनताद्वारा चुनिएका जनताको छोराले शासन गर्ने छन् र उनीहरू शासक हैन जनताका संरक्षक बन्ने छन् भन्ने थियो तर जुन आशा र भरोसा थियो, त्यो सबै गुमेको अनुभूति हुन थालेको छ । आजको देशको अवस्था देख्दा मान्छे सास फेर्न पनि पैसा तिर्नु पर्ने हो कि ? भन्ने चिन्तामा छन् । अब मानिस हरेक काम गर्न कहाँ ? कसलाई ? कति ? पैसा तिर्ने हो त्यसको खोजीमा रहेको छ भने काम गर्नेहरू कहाँ ? कोसित ? कति खान पाइन्छ ? त्यसैको खोजिमा रहेका छन् ।

वर्तमान समयमा भ्रष्टाचार कहाँ छ भन्दा पनि कहाँ छैन भन्नु पर्ने छ । कर्मचारी, खरदार, सुब्बा, इन्जिनियर, ठेकेदार त्यस्तै शिक्षकको सरुवा, बढुवा, नियुक्ति आदि आदि आदि …… ।
सेवाग्राही काम गराउन कार्यालय पुग्दा राज्यलाई तिर्ने राजश्व हैन कर्मचारीलाई टेबुलमुनिबाट दिने रकम बोकेर जानुपर्छ । कुनै नियम उलङ्घन गरे जरीवाना हैन घुस दिनुपर्छ । हत्यारा, बलत्कारी, चोर, डाकु कसैलाई पनि कानुनको कठघराले हैन अवैध रकमको गड्डीले उम्काउँछ । दिनप्रतिदिन भइरहेका हत्या र बलत्कारीका घटना र त्यसमा संलग्न व्यक्तिले पाएको उन्मुक्तिले यो कुरा देखाइरहेको छ ।

एकातिरबाट हेर्दा इन्जिनियर, ठेकेदार, कर्मचारी रङ्गेहात घुससहित समातिएका छन् । यो अवस्थाले लाग्छ अब देश भ्रष्टाचार मुक्त हुँदैछ तर अर्कोतिर काम गराउन जाने मानिसहरू आजित भइसकेका छन् कि विना धन (घुस) केही नभन । यसरी समातिनु फेरी घुसकै अर्को खेल त हैन ? कसलाई कति कारवाही भो ? समाचार पढ्दा समातिएको कुरा आउँछ तर उसलाई सजाय भएको, जागिर गएको, घरखेत भएका, धन र जेल दुबै सजाए भएको आउँदैन । बरु आउँछ त धरौटि तिररे छुट्यो । जागिरमा गयो फेरी खेल त्यही भो । धरौटी तिरेको रकम पनि उठाउनु छ र उसलाई उमकाउनेमा कुन कुन नेताको हात छ उनीहरुलाई पनि बुझाउने रकम कमाउनु छ ।

देशमा भ्रष्टाचार दिन दुगुना र रात चार गुना मौलाइरहेको त हैन ? यस अवस्थामा प्रजा (जनता) काम गराइमा आफन्त, पैसा, शक्तिको आड आदिले आजित भैसकेका छन् । यहाँ प्रजा (जनता) दुब्ला र शासक (नेता, कर्मचारी) मोटा भएका छन् । यस्तो अवस्थामा पृथ्वीनारायण शाहको “अन्याय मुलुकमा हुन नदिनु नियानिसाफ बिगान्र्ये भन्याको घुस दिने र घुस षान्या हुन् ईन दुईको त धन जिव गरि लिया पनि पाप छैन ई राजा (देश) का महासतुर हुन्”भन्ने उक्ति हराएको छ । अब नेपाल एकीरणको समयमा गोरखाबाट काठमाडौँसम्म आउन पृथ्वीनारायण शाह हिडेको बाटोभन्दा विचारलाई टर्च बालेर खोज्नु पर्ने बेला भएको छ ।
जय राष्ट्रिय एकता दिवस ! जय पृथ्वीनारायण शाह !
(क्राइम चेक साप्ताहिकमा २४ पुस २०७६ ाम प्रकाशित)

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM