Wednesday, November 27, 2024
घरविचारइतिहासआज भाद्र २७ गतेः गोरखा राज्य स्थापना भएको दिन !

आज भाद्र २७ गतेः गोरखा राज्य स्थापना भएको दिन !

-राजेन्द्र प्रसाद पन्त
द्रब्यशाह सामान्य राजकुलमा जन्मेका एकजना साधारण राजकुमार थिए । आजभन्दा ठीक ४६० वर्ष पहिले अर्थात सम्बत् १६१६ साल भाद्र २७ गते बुधवारका दिन उनैको नेतृत्वमा गोरखा राज्य स्थापना हुनपुग्यो ।

तत्कालिन समयमा साना साना क्षेत्रफल ओगटेर बसेका धेरैजसो अराजक र उद्दण्ड प्रकृतिका स्वघोषित राजारजौटा र तिनहरुका आसेपासेहरूद्वारा हुने अत्याचार शब्दमै वर्णन गर्न नसकिने खालका हुने गर्दथे । द्रब्य शाहकै वंशज पृथ्वीनारायण शाहले त्यस प्रकारका भुरेटाकुरे, थुम्के राजाहरूलाई पराजित गर्दै अनेक स-साना राज्यको संयोजन गरी एकीकृत नेपाल राज्य निर्माण आरम्भ गरे । यसर्थमा वर्तमान नेपाल तत्कालीन गोरखा राज्यकै विस्तारित रूप हो ।

यहाँ प्रशंग द्रब्य शाहको हो । सारा संसार भरी पूर्वीय दर्शन बाहेक कुनै राजनीतिक वाद, विधि या तन्त्रको नामोनिशान नरहेको अवस्थामा पनि एक जना गोठाले राजा द्रब्यशाहले गोरखा राज्य स्थापनाका समय गङ्गाराम राना मगरलाई प्रधानन्यायाधीश नियुक्त गरेका थिए । २०४६ साल यताका ३० वर्षे अवधिमा राजनीतिमा अनेक तरहका आयातीत राजनीतिक दर्शन मातहत फस्टाएको जातीय अधिकार, समानता, समावेशीता, लोकतान्त्रिक अधिकार जस्ता आकर्षक छद्मनारा भट्याउँदै आएका राजनीतिक ब्यापारीहरूले कतिजना मगर, गुरुङ, राइलिम्बु, शेर्पातामाङ आदि जनजातिलाई प्रधानमन्त्री बन्ने अवसर प्रदान गरे ? कतिजना सार्की, दमाई, कामी, पोडे, चामे, दुसार, हरिजन आदि प्रमुख मानिने राजनीतिक दलका अध्यक्ष भए त ? संसारमा कहीं नभएको जात्रा एउटै दलमा २-२ वटा अध्यक्ष हुँदा पनि एकजना अध्यक्ष आफैंले घोषणा गरेका दलित, जनजाति, पिछाडिएका समुदायबाट किन परेनन् ?

नेपाली काँग्रेसको आसन्न महाधिवेशनमा कृष्णप्रसाद कोईरालाको खलकबाट कुन चाहिँ कोइरालालाई कसरी पार्टी सभापति बनाउने भन्ने चर्चा र चिन्ता व्यापक हुँदैछ । के काँग्रेस पार्टीमा अबको अध्यक्ष राई लिम्बु, गुरुङमगर, शेर्पातामाङ, हरिजन/पोडे, दुसाध/मुसहर, सार्की, दमाई, कामी आदिबाट बनाउनुपर्छ भनेर कतै आवाज उठेको कोही कसैले सुन्नुभएको छ ?

यदि छैन भने नानाभाँतिका वादका आवरणमा दुनियाँको अधिकारका विषयमा चर्को चर्को आवाज उठाउने र समाज भँड्याउने अधिकार कहाँबाट पाए राजनीतिक आवरणका छद्म ब्यापारीहरूले ? कृष्णप्रसाद कोइरालाका खलक बिना बाँच्नै नसक्ने ती कस्ताखाले काँग्रेसी युवायुवती हुन् ? ती युवायुवतीहरु कुनै कुलबंश या परिवारका हरुवाचरुवा कमैया कि प्रजातन्त्रका सीपाही ? कि भाषणमा एक्काइसौं शताब्दीको लोकतन्त्र ! एक्काइसौं शताब्दीको जनवाद भनेर फलाक्ने बित्तिकै घनघोर प्रजातन्त्रवादी, जनवादी भइने हो र ? कस्तो घीनलाग्दो आश्चर्य !

अत: ४६० बर्ष पहिलेका द्रब्य शाहकालीन जति पनि औकात नभएका राजनीतिक आवरणका छद्म व्यापारीको भजन नगाईदिएकै आधारमा कोही कसैलाई अकारण अर्घेलो ठान्ने, नानाभाँतिका उपाधि भिडाउने प्रवृत्तिमा सुधार नआउँदासम्म यो मुलुकले सही निकास पाउन नसक्ने निश्चित छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -